काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनपछि आफ्नो खातामा रहेको रकममध्ये १ करोड रुपैयाँ पार्टीको केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरेको छ ।
पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई आर्थिक अभाव हुन नदिन समितिले उक्त रकम बराबरको चेक केन्द्रीय कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ ।
महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सम्पन्न भएपछि निर्वाचन समितिको खातामा जम्मा भएको मौज्दात रकमबाट १ करोड रुपैयाँ पार्टीलाई उपलब्ध गराइएको हो । समितिका अनुसार निर्वाचन सम्पन्न गर्ने क्रममा संकलित कुल रकमको हिसाबकिताब टुङ्ग्याउने काम भने जारी छ ।
निर्वाचन समितिका पदाधिकारीहरूले महाधिवेशनका क्रममा कुनै पनि प्रकारको व्यक्तिगत पारिश्रमिक वा भत्ता नलिई स्वयंसेवी रूपमा काम गरेको जनाएका छन् । सोही क्रममा बचत भएको रकम पार्टीको संगठनात्मक सुदृढीकरण र नवनिर्वाचित नेतृत्वको कार्यसम्पादनमा सहयोग पुर्याउने उद्देश्यले हस्तान्तरण गरिएको समितिले स्पष्ट पारेको छ ।
नवनिर्वाचित सभापति गगनकुमार थापासहितको नयाँ नेतृत्वलाई राजनीतिक तथा सांगठनिक गतिविधि सञ्चालन गर्न आर्थिक स्रोत आवश्यक पर्ने भएकाले सहयोग गरिएको समितिको भनाइ छ ।
नयाँ नेतृत्वलाई शुभकामना दिनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै समितिले पार्टीको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन आर्थिक सहयोगसमेत आवश्यक रहेको जनाएको छ । सोही आवश्यकतालाई ध्यानमा राखेर १ करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको समितिले जनाएको छ ।


प्रतिक्रिया