काठमाडौँ । नेपाली काँग्रेसभित्र समानान्तर सांगठनिक गतिविधि सञ्चालन गर्दै आएको देउवा समूहले शनिबार डडेल्धुरामा जिल्ला अधिवेशन सुरु गरेको छ।
पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्लामा आयोजित अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यक्रम छ।
समूहले काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय तथा आठौँ जिल्ला अधिवेशन आयोजना गरेको हो। अधिवेशनअघि डडेल्धुरा बसपार्कदेखि निर्माण व्यवसायी संघको सभाहलसम्म बाजागाजासहित र्याली निकालिएको थियो।
काँग्रेस डडेल्धुराका तत्कालीन सभापति भीमबहादुर साउद विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले आयोजना गरेको अधिवेशनमा सहभागी भएपछि देउवा समूहले उपसभापति डिल्लीराज जोशीलाई जिल्ला अधिवेशन संयोजनको जिम्मेवारी दिएको थियो।
अधिवेशनबाट जोशी जिल्ला सभापति चयन हुन सक्ने चर्चा भए पनि नेतृत्व चयनको औपचारिक परिणाम सार्वजनिक भइसकेको छैन।
देउवा समूहले यसअघि संखुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी, रोल्पालगायत जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। समूहले असोज १५ गतेदेखि वडा तहको अधिवेशन सुरु गरी जिल्ला र प्रदेश हुँदै केन्द्रीय महाधिवेशनसम्म पुग्ने कार्यतालिका अघि बढाएको छ।
समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशनका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डप प्रयोग गर्ने व्यवस्था मिलाइएको समूहको भनाइ छ।
विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमिति र देउवा समूहबीच पार्टीको नेतृत्व तथा सांगठनिक प्रक्रियालाई लिएर मतभिन्नता कायम छ। काँग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुवै पक्षका सांगठनिक गतिविधि अलगअलग रूपमा अघि बढिरहेका छन्।


प्रतिक्रिया