सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते


ग्लोब नेपाल
0
Shares

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८:११ मिनेटमा डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा हेलिकप्टरमा सवार एक विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक विदेशी नागरिकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए। उनका अनुसार दुर्घटनामा एक जना यात्रु घाइते भएका छन् ।

घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला ल्याइएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था र दुर्घटनामा परेको हेलिकप्टरमा सवार अन्य यात्रु तथा चालक दलका सदस्यको विवरण भने खुल्न बाँकी रहेको छ ।

हिमाली क्षेत्रको फेरुचेमा भएको उक्त दुर्घटनाको कारणबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।