काँग्रेस कार्यकर्ता र मतदाताले अबदेखि रुखबाहेक अरु चिन्हमा मतदान गर्दैननः महामन्त्री थापा

काँग्रेस कार्यकर्ता र मतदाताले अबदेखि रुखबाहेक अरु चिन्हमा मतदान गर्दैननः महामन्त्री थापा


ग्लोब नेपाल
513
Shares

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले काँग्रेस कार्यकर्ता र मतदाताले अबदेखि रुखबाहेक अरु चिन्हमा मतदान गर्न नसक्ने बताएका छन् ।

शनिबार पार्टीको पाल्पा जिल्ला सम्मेनललाई सम्बोधन गर्दै थापाले आसन्न महासमिति बैठकले अब उप्रान्त कांग्रेस कार्यकर्ता र जनताले रुखबाहेक अरु चिन्हमा भोट हाल्नुपर्ने छैन भन्ने प्रतिबद्धता जारी हुनुपर्ने बताए ।

कम्युनिष्टसँग गठबन्धन गरेर निर्वाचनमा जाँदा पार्टी खस्किएको उनको भनाइ थियो । कम्युनिष्टसँग मिलेर चुनावमा जाँदा पार्टीले आफ्नो मौलिक सैद्धान्तिक धारसमेत गुमाएको टिप्पणी उनले गरे ।

‘हामीले हाम्रा मतदातालाई रुखमा होइन, हँसिया हथौडा र कलममा भोट हाल्न लगायौं । साइकलमा भोट हाल्न भन्यौं’, थापाले भने, ‘तर अब महासमिति बैठकबाट हामीले भन्नुपर्छ । जे भयो भयो जितिने लोभ र हारिने डरले रुखबाहेक अरु चिन्हमा छाप लाउने अपराध अब गर्ने छैनौं भनेर डिक्लियर गनुपर्छ ।’

थापाले चुनावी गठबन्धन गरेका दलहरुको यसमा कुनै दोष नरहेको स्पष्ट गरे । काँग्रेसले नै त्यसरी चुनावमा जाने निर्णय गरेकाले चुनावी गठबन्धनमा सामेल दलहरुलाई केही भन्न नमिल्ने तर्क गरे । कांग्रेसका ८ लाख ७० हजार क्रियाशील सदस्यभन्दा बाहिर २० लाखभन्दा बढी जनता कांग्रेसको घरलाई मन्दिर मान्नेहरु रहेको दाबी गरे ।

रुखबाहेकमा भोट हाल्न लगाइँदा उनीहरुको आस्थामाथि चोट लागेकाले शेरबहादुर देउवादेखि गाउँ सभापतिसम्मले हात जोडेर माफी माग्दै रुखबाहेक अरुलाई भोट हाल्न लगाउने अपराध अब नगर्ने बाचा गर्नुपर्ने उनको भनाइ थियो ।

फरक प्रसंगमा थापाले सरकारको कामकारबाही सन्तोषजनक नरहेको आरोप लगाए । काँग्रेस सरकारमा भएकै भएकाले अरुलाई दोष दिएर उम्किन मिल्ने अवस्था नरहेको थापाले बताए । उनले सरकारले गल्ती गरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारबाट खुमलटार पठाउन सक्नुपर्ने उल्लेख गरे ।

‘सरकारले गल्ती गरे प्रधानमन्त्रीलाई बालुवाटारबाट खुमलटार पठाउँछौं भन्ने आँट पनि गर्नुपर्छ’, उनले भने ।