अपर मुस्ताङमा आठौं निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै हिमालयन गुगे अर्गनाइजेसन

अपर मुस्ताङमा आठौं निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै हिमालयन गुगे अर्गनाइजेसन



काठमाडौं । हिमाल पारिको जिल्ला मुस्ताङमा यही मिति २०८० पुस महिनाको पहिलो र दोस्रो हप्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

हिमालयन गुगे अर्गनाइजेसन (Himalayan Guge Organization-HGO)द्वारा आयोजना हुने उक्त शिविरमा उच्च रक्तचाप, यूरिक एसिड, जोर्नी दुख्ने, कलेजो, पेट, दम–खोकी, पिनास, पिसावसम्बन्धी रोगको उपचार हुनेछ भने सोवा रिग्पा जडिबुटीका औषधिहरू निःशुल्क वितरण गरिनेछ । यस्तै विभिन्न सोवा रिग्पा थेरापीमार्फत पनि उपचार गरिनेछ ।

आम्ची डा. तेञ्जिङ धर्के गुरुङ ‘गुगे’ को नेतृत्वमा हुने उक्त शिविरमा सोवा रिग्पा इन्टरनेशनल कलेजका स्नातक तहका विद्यार्थीहरूको समेत प्रत्यक्ष संलग्नता रहनेछ ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नं. ३ को घिलुङमा पुस ५ र ६ गते र वडा नं. १ चराङ्गमा पुष ८ र ९ गते शिविर सञ्चालन हुने आम्ची डा. तेञ्जिङ धर्के गुरुड ‘गुगे’ ले जानकारी दिएका हुन् ।

उनका अनुसार उक्त वडा र वरिपरिका वडाका गरी झण्डै ५ सय स्थानीयवासीहरू उक्त शिविरबाट लाभान्वित हुनेछन् । हिमालयन गुगे अर्गनाइजेशनले यसअघि सातौं पटक निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ भने दुर्गम जिल्लासहित विनाशकारी महाभूकम्प तथा कोभिड–१९ महामारीको समयमा काठमाडौंलगायत विभिन्न जिल्लामा गरी हजारौं बिरामीको निःशुल्क उपचार गर्नुका साथै सोवा रिग्पा जडिबुटीका औषधिहरू वितरण गरिसकेको छ ।

हिमालयन गुगे अर्गनाइजेशनका संस्थापक अध्यक्ष आम्ची डा. गुरुङ सोवा रिग्पा एशोसिएसन नेपालका अध्यक्ष र सोवा रिग्पा इन्टरनेशनल कलेजका संस्थापक निर्देशन रहेका छन् भने दुई दशकदेखि सोवा रिग्पा चिकित्सा सेवामार्फत समाज र राष्ट्रलाई योगदान पु¥याउँदै आएका आम्ची डा. गुरुङको पाँचौं पुस्ता यो सेवामा आबद्ध छ ।

आफैं उपचार गर्न सक्ने मानिस शहर केन्द्रित हुने क्रम बढिरहेको अवस्थामा सरकारी लगायत अन्य कुनै स्वास्थ्य उपचार नपाइरहेका स्थानीयबासीलाई लक्षित गरी यो शिविर राखिएको आयोजकको भनाइ रहेको छ ।