विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद अभिव्यक्तिका कारण विवादमा परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्ती गर्ने संकेत दिएका छन् ।
हिजो बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले किराँतीको अभिव्यक्तिलाई आफूले गम्भीर रुपमा लिएको बताए । प्रचण्डले आफू राजधानी फर्किएपछि किराँतीलाई बोलाएर कुरा गर्ने र त्यसपछि कसरी अघि बढ्ने भन्नेबारे निर्णयमा पुग्ने उल्लेख गरे ।
‘मन्त्री किराँतीको अभिव्यक्तिलाई मैले गम्भीर रूपमा लिएको छु’, उनले भने, ‘एकचोटि मन्त्रीसँग कुरा गरेपछि कसरी जाने अन्तिम निर्णय हुन्छ । जसरी बाहिर आइरहेको छ, त्यो गम्भीर नै छ ।’ विभिन्न राजनीतिक दलका नेता र हिन्दूवादीहरुले किराँतीको बर्खास्तीको माग गरिरहेका छन् ।
एक कार्यक्रममा किराँतीले संसारमा क्रिश्चियनहरुको जनसंख्या ८० प्रतिशत रहेको र नेपालमा क्रिश्चियन धर्मलाई स्वीकार नगर्नेहरु संविधान र राज्यविरोधी भएको टिप्पणी दिएका थिए । उनको अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको छ ।


प्रतिक्रिया