गठबन्धनबाट कांग्रेसलाई कति सिट ?

गठबन्धनबाट कांग्रेसलाई कति सिट ?

को–को बन्दैछन उम्मेदवार



काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि माघ ११ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धन सहमति गरेर चुनाव लड्ने भएका छन् । १९ सदस्यका लागि निर्वाचन हुनेछ भने एकजना राष्ट्रपतिबाट मनोनित हुने छन् । यो १९ पदका लागि ७ वटा राजनीतिक दल भागवण्डा गरेर चुनावमा जाने सहमति नजिक पुगेका छन् ।

भागवण्डामा कांग्रेसले ९ सिट लिने सम्भावना छ । बाँकी १० सिट माओवादी केन्द्र, संघीय समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीले बाँडेर लिने मोटामोटी सहमति भइसकेको छ । कांग्रेसलाई ८ सिटमा मनाउन सकिन्छ कि भनेर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, संघीय समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लागिरहेका छन् । तर कांग्रेसले ९ सिट र राष्ट्रपतिबाट मनोनित हुने एकसहित १० सिटभन्दा थोरैमा सहमति नगर्ने स्पष्ट अडान राखेको छ ।

बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा राष्ट्रियसभामा उम्मेदवार बन्न मापदण्ड बनाउने विषयमा पनि छलफल भयो । अधिकांश केन्द्रीय सदस्यले प्रतिनिधिसभा निर्वाचनमा पराजितलाई उम्मेदवार बनाउन नहुने विषयमा बोलेका थिए । तर प्रतिनिधिसभामा पराजितलाई पनि उम्मेदवार बनाएर पार्टीभित्र सन्तुलन मिलाउने पक्षमा सभापति शेरबहादुर देउवा देखिएका छन् ।

कांग्रेसले उम्मेदवारको मापदण्ड कस्तो र कसलाई उम्मेदवार बनाउँछ भन्ने कुरा केन्द्रीय समितिका बैठकपछि मात्र संकेतहरु देखापर्ने छन् । मापदण्ड नबनी यतिबेला प्रदेशबाट उम्मेदवारको नाम सिफारिस भइरहेको छ । प्रदेशले प्रतिनिधिसभामा पराजित र पार्टीमा प्रभावशाली नेताको नाम केन्द्रमा सिफारिस गरेको छ ।

कांग्रेसले ९ सिट पायो भने अन्यबाट ४, महिलाबाट ३, दलितबाट १ र अपांगता भएका वा अल्पसंख्यकबाट १ जनालाई उम्मेदवार बनाउनुपर्ने हुन्छ । यो ९ मध्ये कोशी, लुम्बिनी र कर्णालीबाट १–१ जना र गण्डकी, सुदूरपश्चिम र बागमतिबाट २–२ जना उम्मेदवार बनाउनुपर्ने हुन्छ ।

बाँकी रहेको १० सिटमा ५ मा‌ओवादीले राख्ने छ भने, संघीय समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीले १–१ सिट बाँडेर लिने छन् । संघीय समाजवादीले कोशीबाट, नागरिक उन्मुक्तिले सदूरपश्चिमबाट, लोकतान्त्रिक समाजवादी र जनमतले मधेशबाट र लुम्बिनीबाट जनता समाजवादीले उम्मेदरवारी दिने छन् भने माओवादीले बागमति र कर्णालीबाट २–२ र गण्डकीबाट १ जना उम्मेदवार बनाउने सम्भावना छ ।