काठमाडौँ । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी समेत गरेका छन् ।
शुक्रबार दिउँसो ग्वार्कोमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि तनावग्रस्त बनेको हो ।
इपिएस परीक्षार्थीहरूले मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगजनी गरेका हुन् । आगलागीबाट बा २ झ ५८६१ नम्बरको गाडीमा क्षति पुगेको छ ।
घटनास्थलमा खटिएका प्रहरीले इपिएस परीक्षार्थीहरूमाथि अश्रु ग्यास प्रहार गरेको छ। परीक्षार्थीहरूले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।
प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको छ । अहिले त्यहाँ सवारी आवागमन पनि अवरूद्ध बनेको छ । अहिले ग्वार्कोमा ठूलो संख्यामा प्रहरी खटिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
उनले भने, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको छ ।” ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।
पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो । पानी जहाजमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।


प्रतिक्रिया