बालकुमारी आन्दोलन : प्रहरीको गोली लागेर दैलेखका एक युवाको मृत्यु, ५४ जना पक्राउ

बालकुमारी आन्दोलन : प्रहरीको गोली लागेर दैलेखका एक युवाको मृत्यु, ५४ जना पक्राउ



काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुजन राउतको ज्यान गएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । उनको उपचारका क्रममा पाटन अस्पतालमा ज्यान गएको हो ।

युवाहरुको भिड अनियन्त्रित भएको र वरपरका पसल तथा गाडीमा अन्धाधुन्ध आक्रमण गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको बताएकाे छ । केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भए पनि संख्या यकिन भइसकेको छैन । ५४ जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले लाठीचार्ज र अश्रुग्यास हानेर युवालाई तितर बितर पारेको हाे ।

आन्दोलन गरेका युवाहरुले आजै मन्त्रीको गाडी जलाएका छन् । युवाहरुको आन्दोलन चलिरहेको बेला पार्टी कार्यालय जान हिँडेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकास ज्वालाको गाडीमा विद्यार्थीले आगजनी गरेका हुन ।

पानी जहाज बनाउने काम अर्थात ‘सिप बिल्डिङ’का लागि परीक्षा फारम भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने निर्णयविरुद्ध युवाले आन्दोलन गरेका प्रहरीले जनाएको छ ।

इपीएस कार्यालयको निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए । अदालतले सिप बिल्डिङमा फेल भएकालाई उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन आदेश दिएको थियो । तर ईपीएसले मुद्दा हाल्ने युवालाई मात्र फारम खुलाएपछि अरु युवाले आन्दोलन गरेका हुन् । प्रदर्शनका कारण चक्रपथ सहित वरपरका सडकमा ट्राफिक अवस्था अस्तव्यस्त भएको छ ।