प्रचण्ड–ओली ‘गोप्य’ भेट, राष्ट्रिय सभा सिट बाँडफाँड पेचिलो बन्दै

प्रचण्ड–ओली ‘गोप्य’ भेट, राष्ट्रिय सभा सिट बाँडफाँड पेचिलो बन्दै


ग्लोब नेपाल
162
Shares

काठमाडौं । सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आसन्न राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँडको विषय ‘पेचिलो’ बन्दै गएको छ । सिट बाँडफाँडको विषयलाई लिएर विवाद बढिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ‘गोप्य’ भेटवार्ता भएको बुझिएकाे छ ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच करिब ४५ मिनेट भएको भेटवार्तामा ‘वान टु वान’ कुराकानी भएको बताइएकाे छ ।

प्रचण्ड–ओलीबिचको भेटवार्तामा मूलत: टीआरसी विधेयक र राष्ट्रिय सभा निर्वाचनबारे छलफल भएको बताइएको छ । कतिपयले यो भेटलाई माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँडको प्रयाससमेत भनेर विश्लेषण सुरु गरेका छन् ।

एमालेका एक पदाधिकारीले भने, ‘राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दायाँबायाँ नहुने भनेकाले एमालेको हार निश्चित नै छ । तै पनि हाम्रोतर्फबाट सकिने प्रयास त हुने नै भयो’ प्रधानमन्त्री र हाम्रो अध्यक्षबीच पनि यसबारे केही न केही कुरा त भएको छ तर ठोस रूपमा हामीसमक्ष जानकारी आइनसकेकाले केही भन्न सकिन्न ।’

ती नेताका बुझाइमा दुई नेताको भेटमा एमाले अध्यक्षले राष्ट्रिय सभाको १९ सिटमा एमाले र माओवादी मिलेर चुनाव लड्न प्रस्ताव गरेको हुन सक्छन् । यद्यपि प्रचण्ड–ओली भेटवार्ताबारे औपचारिक रूपमा दुवै नेताको सचिवालय र नेता निकटस्थहरूले गोप्य नै राखेका छन् ।