प्रतिपक्षलाई उदारता प्रदर्शन गर्दा सत्ता गठबन्धनमा आँच आउन दिइन्न : प्रधानमन्त्री

प्रतिपक्षलाई उदारता प्रदर्शन गर्दा सत्ता गठबन्धनमा आँच आउन दिइन्न : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिपक्ष (नेकपा एमाले) लाई अहिलेसम्म नभएको उदारता प्रदर्शन गरिएको बताएका छन् । उनले प्रमुख प्रतिपक्षी एमालेलाई उदारता प्रदर्शन गर्दा सत्ता गठबन्धनमा आँच आउन नदिइने बताए ।

रामेछापको सुनापति गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सदन सञ्चालन र शान्ति प्रक्रियाको बाँकी काम टुग्याउन सत्तापक्ष र प्रतिपक्षबीच आफूहरुले सक्दो समझदारी गरेको बताए ।

रामेछापको सुनापति गाउँपालिकाको भवन बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘यो गठबन्धन पूरै अवधि जान्छ । यसमा कतै ‘इफ, बट’ नसोच्नुहोला । कुनै आशंका गर्न जरूरी छैन । केही महिनाअघि संघीय संसदमा समिति गठन गर्दा प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता हामीले प्रदर्शन गरेकै हो,’ प्रधानमन्त्री दाहालले भने, ‘प्रतिपक्षमा भएको दललाई एउटा मात्रै समिति सभापति दिने परम्परा थियो । लेखा समिति । जो प्रतिपक्षमा हुन्छ त्यसले लेखा समिति सभापति हुन्छ । तर हामीले सदन सुचारू गर्न सजिलो होस् र विधेयक अघि बढाउन सहज होस् भन्नाका लागि यो पटक लेखासहित तीन समिति सभापति नेकपा एमालेलाई दियौं ।’

उनले यस्ता निर्णयले गठबन्धनमा कुनै आँच नआउने पनि बताए । उनले भने, ‘यसको अर्थ गठबन्धनमा आँच पुर्याउँने खालको होइन र हुनपनि सक्दैन। त्यसैले कहीँ कतै के होला भनेर सोच्न आवश्यक छैन। यो गठबन्धन सानो दुःख र संघर्षले बनेको गठबन्धन होइन । यो चुनावपछिको मात्रै होइन चुनावअघिदेखिकै हो । यो हिजोको कुरामा पनि संविधान रक्षाका लागि सदन र सडक सबै क्षेत्रबाट संघर्ष गर्दै हामी आएको हो । त्यसैले हामीलाई अन्तसम्म लानुछ ।’

उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने कतिपयले दुस्साहस गरेपनि सम्भव नभएको बताए ।