काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सदस्य चयन गर्न आगामी माघ ११ गते चुनाव हुँदै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धन दलबीच सिट बाँडफाँटका लागि छलफल हुँदै छ । गठबन्धन दलबीच चुनावमा मिलेर जाने सहमति यसअघि नै भइसकेको छ ।
सत्ता गठबन्धनमा ७ दल सहभागी भए पनि राष्ट्रियसभाको चुनावमा भने चार दलबीच गठबन्धन हुनेछ । चार दलमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ७ र एकीकृत समाजवादी र जसपाले ३-३ सदस्यमा दाबी पेस गरेका छन् । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले दलहरूले दाबी गरेको सङ्ख्याको वरिपरि रहेर सिट बाँडफाँट हुने बताए ।
पौडेलका अनुसार कांग्रेसले ९, माओवादी केन्द्रले ६ र एकीकृत समाजवादी र जसपाले २-२ सदस्य लिएर भागबन्डा मिलाउने आन्तरिक तयारी छ । यसअघि आज बिहान बसेको गठबन्धन दलका नेताहरूको बैठकले विपक्षी एमालेसँग सहमति हुने सम्भावना टरेको भन्दै गठबन्धन दलबीचमा मात्रै सहकार्य गर्ने निर्णय गरेको थियो ।
विपक्षी एमालेले ६ सिट पाउनुपर्ने दाबी गरेको थियो । गठबन्धनमा आबद्ध कांग्रेस र माओवादी केन्द्र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट पारित गर्न सघाउने सर्तमा एमालेलाई ६ सिट दिन सकारात्मक थिए । तर अन्य दल सहमत नभएपछि गठबन्धनमा आबद्ध दलहरूले मात्र सिट बाँडफाँट गर्न लागेका हुन् ।


प्रतिक्रिया