किन कठिन छ शेख हसिनाको अगाडिका बाटो

किन कठिन छ शेख हसिनाको अगाडिका बाटो



शेख हसिनाको पार्टी अवामी लिग र उसका सहयोगीहरूले ३०० संसदीय सिटमा उम्मेदवार खडा गरेका थिए । तीमध्ये २२३ मा विजय हासिल गरेका छन् । यो जितसँगै हसिना अर्को पाँच वर्षे कार्यकालका लागि प्रधानमन्त्री बन्नेछिन् ।

देशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले निर्वाचन बहिस्कार गरेको छ । शेख हसिनाको पार्टी र उसका सहयोगीहरूले बाँकी सीटहरू पनि जित्ने छिन् । बिएनपीले बंगलादेशको चुनावलाई धाँधलीको संज्ञा दिएको छ । ठूलो संख्यामा बीएनपी नेता र उनीहरूका समर्थकहरू पक्राउ परेपछि आइतबार चुनावको परिणाम आउन थालेको हो ।

बङ्गलादेशको आधिकारिक तथ्याङ्कअनुसार करिब ४० प्रतिशत मानिसले मात्र मतदानमा भाग लिएका थिए । आलोचकहरुले ४० प्रतिशतको आँकडा पनि तथ्यमा आधारित नभएको बताएका छन् ।

अवामी लिगका स्वतन्त्र उम्मेदवारले ६१ सिट जितेका छन् भने जातीय पार्टीले ११ सिट जितेको छ । परिणाम सोमवार आधिकारिक रूपमा घोषित गरिने छ ।

शेख हसिनाको यो पाँचौं कार्यकाल हो । हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् र सन् २००९ मा पुनः निर्वाचित भएकी थिइन् । उनी सन् २००९ देखि सत्तामा छन् । ‘म देशमा लोकतन्त्र सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेकी छु’, शेख हसिनाले आइतबार मतदानपछि भनिन् ।

विपक्षीविहीन निर्वाचनमा विजय
ह्युमन राइट्स वाचका अनुसार गत वर्ष अक्टोबर २८ मा विपक्षीको र्‍याली हिंसात्मक बनेपछि करिब १० हजार व्यक्तिलाई पक्राउ गरिएको थियो ।

र्‍याली हिंसात्मक बनेपछि कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै पाँच हजारभन्दा बढी घाइते भएका थिए । शेख हसिना सरकारमाथि आफ्ना विरोधीलाई जेलमा हालेको आरोप लागेको थियो । अवामी लिगले उक्त आरोपको खण्डन गर्दै आएको छ ।

बंगलादेशमा अवामी लिगको जीतले एकदलीय शासन निम्त्याउन सक्ने आशंका छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो पटक विवादित निर्वाचनमा विजय हासिल गरेकी छन् ।

हसिना सरकारले विपक्षीहरूमाथिको कठोरतालाई खुकुलो बनाउने अपेक्षा कमै मानिसहरूले गरेका छन् । यदि विपक्षी दल र नागरिक समाजका समूहहरूले सरकारको वैधतामाथि प्रश्न उठाएभने सरकारले यसलाई दृढतापूर्वक सामना गर्नेछ ।

प्रमुख प्रतिपक्षी दल बीएनपीले स्वतन्त्र कामचलाउ सरकारको नेतृत्वमा निर्वाचनको माग गरेको थियो । तर सरकारले बीएनपीको यो मागलाई अस्वीकार ग-यो ।

यसपछि बिएनपीले निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको थियो । ‘हाम्रो शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन निर्बाध रूपमा जारी रहनेछ,’ सन् २००८ देखि लण्डनमा बस्दै आएका बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमानले इमेलमार्फत बीबीसीलाई भने ।

तारिक रहमान शेख हसिनाका कट्टर प्रतिद्वन्द्वी तथा पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा हुन् । चुनावमा बीएनपी कार्यकर्तामाथि आगजनी र आक्रमणको आरोप रहमानले अस्वीकार गरेका छन् ।

सरकारमाथि केही गम्भीर आरोप
खालिदा जिया भ्रष्टाचारको आरोपमा नजरबन्दमा छिन् । सन् २००४ मा शेख हसिनाको र्‍यालीमा ग्रिनेड प्रहार गरिएको थियो । उक्त आक्रमणमा शेख हसिना घाइते हुनुका साथै कम्तीमा २० जनाको मृत्यु भएको थियो । तारिक रहमानलाई सन् २०१८ मा आक्रमणको योजना बनाएको अभियोगमा दोषी ठहर गरिएको थियो ।

रहमानले आफूमाथि लगाइएका सबै आरोप निराधार र राजनीतिक प्रतिशोधका कारण भएको बताएका छन् । बिएनपीले मतदानमा भाग नलिन सर्वसाधारणलाई अपिल गरेको थियो ।

अवामी लिगका नेता अनिसुल हक भन्छन, ‘हामीले सुरु गरेको राजनीतिक प्रक्रियाले बङ्गलादेशमा राजनीतिक स्थिरता ल्यायो । शेख हसिनाको विगत १५ वर्षमा सबैभन्दा ठूलो उपलब्धि भनेको उनले बंगलादेशका जनताको मनमा विश्वास जगाउनु हो । मानिसहरूले आफूमाथि विश्वास गर्न थाले ।’

हसिनाको नेतृत्वमा बंगलादेशको आर्थिक चित्र विरोधाभासपूर्ण बनेको छ । मुस्लिम बाहुल्य रहेको बङ्गलादेश कुनै समय विश्वको सबैभन्दा गरिब देशमध्ये एक थियो ।

विरोधाभास तथ्याङ्क
सन् २००९ पछि शेख हसिनाको नेतृत्वमा बंगलादेशले धेरै आर्थिक सफलता हासिल गर्‍यो। बङ्गलादेश हाल विश्वको सबैभन्दा तीव्र गतिले वृद्धि भइरहेको अर्थतन्त्रमध्ये एक हो ।

यहाँसम्म कि आफ्नो विशाल छिमेकी भारतभन्दा पनि अगाडि छ । पछिल्लो एक दशकमा बङ्गलादेशको प्रतिव्यक्ति आय तीन गुणाले बढेको छ र विश्व बैंकको अनुमानअनुसार विगत २० वर्षमा दुई करोड ५० लाख मानिस गरिबीबाट मुक्त भएका छन् ।

बङ्गलादेश चीनपछि विश्वको दोस्रो ठूलो कपडा उत्पादक देश हो ।

तर कोरोना महामारीका कारण सन् २०२२ देखि बंगलादेशको अर्थतन्त्र खस्कँदो अवस्थामा छ । मुद्रास्फिति बढिरहेको छ र त्यहाँको सरकार अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिन बाध्य छ । जनताको आक्रोशलाई नियन्त्रण गर्न सरकार लागिपरेको छ । बंगलादेशमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढिरहेको छ ।

शेख हसिनालाई भारतको समर्थन
गत वर्ष सेप्टेम्बरमा अमेरिकाले बंगलादेशको लोकतन्त्रलाई कमजोर पारेको भन्दै त्यहाँका अधिकारीमाथि भिसा प्रतिबन्ध लगाएको थियो । संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संगठनहरूले पनि शेख हसिना सरकारलाई बङ्गलादेशमा मानवअधिकार उल्लंघन र नागरिक दमन नगर्न चेतावनी दिएका थिए । तर शेख हसिना सरकारलाई थाहा छ कि जबसम्म भारत आफ्नो पक्षमा रहन्छ, तबसम्म पश्चिमबाट आउने कुनै पनि ठूला प्रतिबन्धहरूको सामना गर्न सकिन्छ ।

पश्चिमा देशहरूलाई समेत थाहा छ कि बङ्गलादेशको टेक्सटाइल उद्योगबाट कुनै पनि छुटले लाखौं कामदारलाई असर गर्नेछ, जसमध्ये सबैभन्दा धेरै महिलाहरू छन् ।

शेख हसिना बङ्गलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्ने व्यक्ति बनेकी छिन् । जब शेख हसिनाको कार्यकाल समाप्त हुनेछ, उनी ८१ वर्षकी हुनेछिन् । अवामी लिगमा कसले स्थान पाउँछ भन्ने महत्वपूर्ण प्रश्न हो । अवामी लिगका समर्थकका लागि यो सबैभन्दा ठूलो प्रश्न पनि हो ।

केही विश्लेषकहरूले निर्वाचन परिणाम स्पष्ट भएको तर शेख हसिनाको भविष्य अन्योलमा रहेको बताएका छन् ।
– बीबीसीबाट