काठमाडौँ । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई जितका लागि दुई सय ७४ रनको बलियो लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएका बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७३ रनको योगफल बनायो । बागमतीका लागि ओपनर आशुतोष घिरैयाले एक सय ११ बलमा एक सय १८ रन जोडे । उनले कूल १६ चौका र २ छक्का प्रहार गरे । उनको यो करिअरको पहिलो शतक हो ।
त्यसैगरी कप्तान रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतिक श्रेष्ठले १९ रन बनाए । दोस्रो विकेटका लागि आशुतोष र रितले १ सय ३१ रनको साझेदारी गरे ।
कोशीका अभ्यास तिमिशिनाले ९ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कमल खत्रीले ९.३ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । हेमन्त राईले १० ओभरमा ५४ रन खर्चेर २ विकेट लिए । फिर्दोस अन्सारीले १ विकेट लिए ।
प्रतिक्रिया