बागमतीको मतदान अन्तिम चरणमा, बालेनसहित पाँच मतदाता अनुपस्थित

बागमतीको मतदान अन्तिम चरणमा, बालेनसहित पाँच मतदाता अनुपस्थित



हेटौँडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको मतदान अन्तिम चरणमा पुगेको छ । मकवानपुरको हेटौँडामा बिहान नौ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दा अन्तिम चरणमा पुगेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन बागमती प्रदेश निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलकाअनुसार मतदाता रहेका प्रदेशसभा सदस्य ११० जना मध्ये ९९ जनाले मतदान गरिसकेका छन् । त्यस्तै २३७ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये २२९ जनाले पनि मतदान गरिसकेका छन् । निर्वाचन अधिकृत सन्जेलले नौ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएकाले ३ बजेसम्म नै मतदानका लागि पर्खने बताए ।

मतदानमा हाम्रो नेपाली पार्टीका २ सांसद शैलेन्द्र बज्राचार्य र सरिता खड्गी, काठमाडौँका मेयर बालेन साह, नुवाकोटको किस्ताङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ र काभ्रेको चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर लामा सहभागी भएका छैनन् । यो सबै जोड्दा १६३ मतभार घट्ने भएको छ ।

बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल भिड्दै छन् ।