अफगानिस्तानविरुद्ध आकाश एक्लैले लिए ५ विकेट

अफगानिस्तानविरुद्ध आकाश एक्लैले लिए ५ विकेट



काठमाडौं । नेपालका तीव्र गतिका बलर आकाश चन्दले ५ विकेट लिएपछि आईसीसी यू-१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालविरुद्ध खेलिरहेको अफगानिस्तान धरापमा परेको छ ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले ११.३ ओभरमा ६ विकेट गुमाउँदै ४३ रन बनाएको छ । आकाश चन्दले ५.३ ओभरमा ९ रन खर्चेर ५ विकेट लिएका छन् । गुल्शन झा ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिएका छन् ।

पहिलो ओभरमै विकेट लिँदै गुल्सनले शानदार सुरुवात दिलाएका थिए । त्यसपछि आकाश हावी भएका हुन् । अफगानिस्तानका माथिल्लोक्रमका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् ।

आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो ।

त्यसपछि आकाश चन्दले थप तीन विकेट लिँदै अफगानिस्तानलाई संकटमा पुर्‍याएका छन् । जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे । त्यसपछि सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४-५ को दयनीय अवस्थामा पुर्‍याएका आकाशले २० रन बनाएका हसन इशाखिललाई आउट गर्दै आफ्नो पाँचौं विकेट लिएका हुन् ।

दुवै टोलीलाई दोस्रो चरणमा स्थान बनाउन यो खेल जित्नैपर्ने दबाब छ ।