काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ ।
पहिलो चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल प्रतियोगिताको दोस्रो चरण पुगेको हो ।
तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो ।
जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि कप्तान खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । दीपक बोहराले २७ र आकाश त्रिपाटीले १६ रन जोडे ।
खनालले चौथो विकेटका लागि आकाश त्रिपाटीसँग ४९ र सातौँ विकेटका लागि दीपक बोहरासँग ३६ रनको साझेदारी गरेका थिए ।
७३ रनमा तीन विकेटको अवस्थामा रहेको नेपालले थप १८ रन जोड्दा अन्य ३ विकेट पनि गुमाएको थियो ।
गुल्सन झा १, विपिन रावल २ र दीपक डुम्रेले ५ रन बनाए। दीपेश कँडेल ४ रन जोडेर आउट भए ।
१२७ रन जोड्दा कप्तान खनाल सातौँ विकेटका रुपमा आउट भएपछि नेपाल थप दबाबमा परेको थियो । त्यसपछि दीपक र सन्तोष भन्डारीले आठौँ विकेटका लागि १३ रनको साझेदारी गरे ।
नेपाललाई जितका लागि २ रन आवश्यक रहेका बेला नवौँ विकेट गुमाएको थियो । सुबासले विजयी रनका रुपमा चौका प्रहार गरेका थिए ।
त्यसअघि नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा दीपक डुम्रेबाट क्याच आउट आउट गराउँदै पहिलो सफलता दिलाएका थिए ।
त्यसपछि अर्का तीव्र गतिका बलर आकाश चन्दले पाँच विकेट लिदै नेपाललाई खेलमा हाबी गराएका थिए । आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे ।
त्यसपछि सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४–५ को दयनीय अवस्थामा र्पुयाएका थिए । आकाशले २० रन बनाएका हसन इशाखिललाई दीपेशबाट क्याच गराए । उनले ३५ बलमा ४ चौका हानेका थिए ।
नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । गुल्शन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए ।
सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।
समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एउटा सुपर सिक्समा हुनेछन् । नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ ।
नेपालले यसअघि सन् २०१६ मा आयोजित विश्वकप संस्करणमा पनि दोस्रो चरणको यात्रा तय गरेको थियो ।
प्रतिक्रिया