काठमाडौं । एमाले धादिङमा कुटाकुट भएपछि अधिवेशन स्थगित गरेर नेतृत्वका आकांक्षीहरु अध्यक्ष केपी शर्मा ओलीको आर्शिवाद थाप्न बालकोट आइपुगेका छन् । सोमबार बिहानसम्म अध्यक्षको हातबाट टिका थापेर भूमि त्रिपाठी अधिवेशनस्थल पुग्नेमा कुनै शंका छैन । यद्यपि अधिवेशन निस्पक्ष देखाउन अध्यक्षका अर्का प्रत्यासी डा. रामकुमार अधिकारीले गतिलै आश्वासन पाउने कुरामा धादिङ एमाले ढुक्क छ ।
जिल्ला नेतृत्व कसले लिने भन्ने विषयमा विवाद हुँदा आइतबार बिहान अधिवेशनस्थल रणसंग्राममा परिणत भएको थियो । सन्तोष खनालको हातै भाँचियो । उनको हात कसैले हिर्काएर भाँचेको भने होइन । भागदौडमा चिप्लेर लडेपछि उनको हात भाँचिएको थियो ।
जिल्ला अध्यक्षका दाबेदार दुई जना भए पनि एमाले धादिङमा त्रिपक्षीय भिडन्त हुने वातावरण बनेको छ । अध्यक्ष ओली र महासचिव शंकर पोखरेल त्रिपाठीलाई अध्यक्ष बनाउन चाहन्छन् । धादिङ मलेखुका त्रिपाठीलाई अध्यक्ष बन्न उनकै सहपाठी खेल लोहनी र वर्तमान अध्यक्ष कैलाश ढुंगेल बाधक छन् । त्रिपाठी र लोहनी अस्कल क्याम्पस पढ्दादेखिका मित्र हुन् ।
विद्यार्थीकालदेखि नै गुण्डाशैलीका त्रिपाठी अध्यक्ष बने लोहनी र ढुंगेलको राजनीति लगभग अन्त्य हुने लगभग पक्काजस्तै छ । त्यसैले उनीहरु त्रिपाठीलाई रोक्न चाहन्छन् । त्रिपाठीको विकल्पका रुपमा उनीहरुले रामकुमार अधिकारीलाई अघि सारेका छन् । सल्यानटारका अधिकारी प्रदेश राज्यमन्त्री हुँदा गाउँमा प्रशस्त बजेट पारेर विकास जनतासँग नजिक बनेका छन् । त्रिशुली पारी उनी लोकप्रिय नेताका रुपमा परिचित छन् ।
अधिकारी सुरुमा वामदेव गौतमका प्रियपात्र थिए । बामदेवले एमाले छोडे पनि अधिकारीले छोड्नन । त्यसपछि माधव नेपाल गुटमा उनी रहे । माधव नेपालले एमाले छाडे पनि उनले छाडेनन् । तर उनले वर्तमान अध्यक्ष ओलीको आलोचक रहिरहे । आफ्ना आलोचक अध्यक्ष ओली देख्न सक्दैनन ।
अधिकारी जन–जनमा भिजेका नेता भए पनि वर्तमान अध्यक्ष ओलीका अन्ध समर्थक त्रिपाठीलाई जिल्ला नेतृत्व सुम्पन चाहन्छन् । तर जिल्ला अधिवेशनमा त्रिपाठीलाई जिताउनेभन्दा हराउने समूह बलियो बन्यो । पराजितको संकेत पाएपछि त्रिपाठीले अधिवेशन भाँड्ने र बालकोटमा पुगेर टिके अध्यक्ष बन्ने योजना बनाएका हुन् ।
सोमबार बिहान वर्तमान जिल्ला अध्यक्ष ढुंगेल र अर्का प्रभावशाली नेता लोहनीलाई अध्यक्ष ओलीले त्रिपाठी जिताएर ल्याउने निर्देशन दिने कुरामा धादिङ एमाले ढुक्कजस्तै छ ।


प्रतिक्रिया