काठमाडौं । आरती साहको न्याय माग गर्दै आन्दोलनरत आमा निर्मलादेवी र भाइ प्रेमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो सिंहदरबार छिर्न खोजेका निर्मलादेवी र प्रेमलाई प्रहरीले गेटबाट नियन्त्रणमा लिएको हो । उनीहरूले गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न जान लागेका थिए । प्रहरीले जान नदिएपछि उनीहरूले नाराबाजी समेत गरेका थिए ।
प्रहरीले भने मन्त्रालयमा समन्वय गर्नुपर्ने हुनाले केहीबेर कुर्न भनेपछि विरोध गर्न थालेको बताएको छ । अहिले दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखेको छ ।
गत जेठ ७ गते जनकपुर उपमहानगरपालिका-८ स्थित घरमा आरती मृत फेला परेकी थिइन् । घटनापछि माइतीपक्षले उनका श्रीमान र ससुराविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी दिएका थिए ।
गत मंसिरमा सर्वोच्च अदालतले आरती साहको मृत्यु भएको घटनामा श्रीमान मोतिबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
अर्का प्रतिवादी (आरतीका ससुरा) मदन मोहन साहलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको छ ।
अदालतको आदेशपछि आरती साहका परिवार काठमाडौंस्थित शान्ति बाटिकामा धर्ना दिँदै आएका छन् ।



प्रतिक्रिया