भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले स्टन्डबाजी गर्‍यो : पदम गिरी

भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले स्टन्डबाजी गर्‍यो : पदम गिरी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टन्डबाजी गरेको आरोप लगाएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भए पनि सरकारले दोषीलाई कारबाही गर्ने बाहनामा स्टन्डबाजी गरेको आरोप लगाएका हुन् । 

उनले मन्त्रीहरु काम नगर्ने तर प्रधानमन्त्रीलाई कहिले यशु ख्रिष्ट जस्तो भन्ने कहिले सम्राट अशोक भनेर स्टन्टबाजी गरेर बसिरहेको आरोप लगाए ।

उनले भने– ‘देशका आयोजनाहरु असफल छन्, यस्ता कुराहरुमा मन्त्रीहरुलाई चिन्ता छैन । उहाँहरुलाई स्टन्टबाजमा रहमाउनु छ । कहिले हाम्रो प्रधानमन्त्री यशु ख्रिष्ट जस्तो हुनुहुन्छ, उहाँ त महान हुनुहुन्छ । मन्त्रीज्यूहरु महिमागानमा व्यस्थ हुनुहुन्छ । कहिले सम्राट अशोक जस्तो हुनुहुन्छ भनेर बसेका छन् । स्वय‌ प्रधानमन्त्री पनि पपुलिष्ट हुन आन्दोलन गर्नुस म जातीय राज्य दिन्छु भनेर सस्तो स्टन्टबाजमा रमाउने अवस्था छ ।’

देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न सरकार लागेको भन्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको बताए । यसबारे संसदमा आफूहरुले आवाज उठाउने उनको भनाइ छ । 

त्यसैगरी प्रमुख सचेतक गिरीले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारमा सरकारले गैरजिम्मेवार र अनुदार व्यवहार देखाएको आरोप लगाएका छन् । 

उनले महिनौँ भइसक्दा पनि आफ्नो नागरिकको उद्धारमा सरकारले अनुदारपन देखाएको बताएका हुन् । 

दलालमाफत् रुसी सेनामा नागरिक भर्ती भइरहँदा पनि सरकारले रोक्न नसकेको उनको भनाइ छ ।