जग्गा हडप्ने र सहकारी ठगहरु दण्डित हुनुपर्छ : गगन थापा

जग्गा हडप्ने र सहकारी ठगहरु दण्डित हुनुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्ने र सहकारीमार्फत ठगीमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गलत गर्नेहरु जतिसुकै शक्तिशाली भए पनि दण्डित गर्नुपर्ने बताएका हुन् । उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

‘जो सुकै होस्, जतिसुकै शक्तिशाली होस्, राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस् नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनुपर्दैन ? दण्ड पाउनु पर्दैन ?’ थापाले प्रश्न गरे ।

नागरिकता किर्ते लगायतका विषयमा पनि शक्तिको दुरुपयोग हुन नहुने उनको भनाइ छ । थापाले प्रश्न गरे, ‘जतिसुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको होस् हातमा ताकत होस्, कलम होस्, नागरिकता बनाउनलाई किर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ, त्यसकारणले गर्दा किर्ते गरेपनि उसको किर्ते माफी हुन्छ । यसरी चल्छ ?’ 

सरकार पूर्वाग्रही हुन नहुने भन्दै उनले सरकारले लोकरिझ्याइँका लागि प्रहरी प्रशासन र सरकारी निकायहरुको दुरुपयोग गर्न नहुने बताए । 

सुशासन कायम गर्न सरकारले गलत काम गर्नेको शक्ति र पदीय हैसिय हेर्न नहुने थापाले बताए । ‘चाहे जग्गा मिच्ने होस्, जग्गा हडप्ने होस्, चाहे नागरिकताको किर्ते गर्ने होस्, चाहे सहकारीमा ठग्ने होस् । यताको होस् कि उताको होस् जुनसुकै दलको होस् वा दल भन्दा बाहिरको होस्, जतिसुकै सक्तिशाली होस् कसैले पनि उन्मुक्ति पाउनुहुन्न’ उनले भने ।

महामन्त्री थापाले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास गुम्दै गएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उनको भनाइ छ ।

साथै सरकारी निकाय अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको विश्वास गुम्दै गएको पाइएको भन्दै उनले जनतामाझ टुटेको भरोसालाई जागृत गराउन संसद सक्षम हुनुपर्ने बताए ।

‘कुनै स्टन्टबाजीका निम्ति, कुनै पत्रपत्रिकाको हेडलाइनमा आउनका निम्ति कुनै पनि निर्णय नगरोस् भन्ने स्वभाविक रुपमा अपेक्षा रहन्छ । त्यसो गर्दै गर्दा सरकारलाई संसदको पूर्ण रुपमा साथ सहयोग रहनुपर्छ’, उनले भने ।