भ्रष्टचारी, ठग र अराजकलाई पाता कसेर लैजानुपर्छ : गगन थापा

भ्रष्टचारी, ठग र अराजकलाई पाता कसेर लैजानुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारी, ठग र अराजक कोही पनि भिआइपी नहुने भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले शुक्रबार गरेको सम्मेलनमा बोल्दै महामन्त्री थापाले जतिसुकै शक्तिशाली भए पनि गल्ती गरेका छन् भने कारबाही हुनुपर्ने बताए ।

उनले भने, ‘दोषी जोसुकै होस् उम्कन हुन्न । निर्दोष जोसुकै होस् पर्न हुन्न । कानुन सबका लागि बराबर हुनुपर्छ, सर्वसाधारण नागरिकले सार्वजनिक सम्पत्ति लुटेर लियो भने उसलाई के हुन्छ, दण्ड हुन्छ । सहकारी ठगे दण्ड हुन्छ । सामान्य कर्मचारीले ढुकुटीबाट राज्यलाई भार लगायो भने दण्ड हुन्छ । भ्रष्टचारी भिआइपी हुँदैन, कांग्रेसले समात्ने मन्त्र यही हो । भ्रष्टचारी भिआइपी हुँदैन, ठग भिआइपी हुँदैन, अराजक भिआइपी हुँदैन । सबै बराबर हुन्छ, जतिसुकै शक्तिशाली होस् कोही भिआइपी छैन यहाँ, उनले भने ।

उनले वीरगञ्जका मेयर राजेशमान सिंहलाई लक्षित गर्दै छोरीका नाममा नक्कली कागज खडा गरी नागरिकता बनाएको बताए । ‘एउटा व्यक्तिले छोरीका नाममा नागरिकता दिएको छ । ऊ शक्तिमा छ । राज्यले सजाय दिउँ कि नदिउँ भनेर अलमलिएको छ,’ उनले भने, ‘तपाईं सामान्य नागरिक भए राज्यले दण्ड गरिसक्थ्यो ।’

उनले नक्कली कागज बनाएर नागरिकता बनाउनेलाई पाता कसेर लैजानुपर्ने बताए । उनले भने, ‘शक्तिशालीलाई पनि पाता कसेर लैजानुपर्छ, अनि बल्ल विधिको शासन हुन्छ ।’