कांग्रेस महासमिति बैठकमा नैनसिंह महरको पुरक प्रतिवेदन आउने

कांग्रेस महासमिति बैठकमा नैनसिंह महरको पुरक प्रतिवेदन आउने



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठकमा पुरक प्रतिवेदन ल्याउने बताएका छन् ।

शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उनले उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव प्रस्ताव माथि विचार राख्ने क्रममा उनले प्रस्तावको स्वामित्व लिन नसकिने बताए ।

महरले प्रस्तावहरू केन्द्रीय सदस्यहरूसँगको छलफलबिनै तयार पारिएकोमा असन्तुष्टि जनाएका हुन् । पार्टीका तर्फबाट केन्द्रीय समितिमा आएका प्रस्तावहरू ल्याउँदा समितिको निर्णय भने पनि आजसम्म संयोजक बाहेक केन्द्रीय सदस्यसँग छलफल नभएको भन्दै उनले आपत्ति जनाए ।
 

‘यो भन्दा अघिल्ला सभापतिज्यूको कार्यकालमा केन्द्रीय सदस्यहरूलाई पनि जिम्मा दिने गरेको तर यस पटक पदाधिकारी भन्दा तल झरेको छैन । यी प्रस्तावको हामीले स्वामित्व लिन सक्दैनौं,’ महरले भने । 

उनले गठबन्धनको विपक्षमा समेत धारणा राखेका छन् । कांग्रेसलाई जनतामाझ स्थापित गर्न गठबन्धनको आवश्यकता नरहेको महरले बताए । निर्वाचनमा कुनै ठाउँमा विशेष परिस्थितिले गठबन्धन गरिए पनि त्यसलाई संस्कारकै रूपमा विकास गर्न नहुने उनको धारणा छ । चुनावअघिको गठबन्धन अब स्वीकार्य नहुने उनको भनाइ छ ।
 

उपसभापति खड्काले तयार पारेको नीति प्रस्तावमा इतिहासका कुरा मात्रै आएको उनले टिप्पणी गरे । ‘नयाँ कुरा खोइ ?,’ उनको प्रश्न छ, ‘कांग्रेसले जीवन उपयोगी मानवतावादी शिक्षाको नीति लिनुपर्छ ।’ शिक्षा पनि नैतिकतामा आधारित मानवतावादी हुनुपर्नेमा आफू प्रस्ट रहेको उनको भनाइ छ । 

उनले महामन्त्री थापाको प्रस्तावमा सभापतिलाई अझै बलियो बनाउने उल्लेख गरिएकोमा विमति राखेका छन् । ‘महामन्त्रीको सांगठनिक प्रस्तावमा पार्टीका विभिन्न निकायमा सभापतिले मनोनीत गर्ने कुरामा मेरो विमति छ । समाजवादी र माओवादीसमेत निर्वाचनमा केन्द्रित भएको बेलामा पूर्ण निर्वाचित समिति बन्नेतिर पो हामी जानुपर्छ,’ उनले भने ।

महरले कांग्रेसको नीतिमा युवा रोजगारका विषय समेटिनुपर्ने पनि बताए । अहिले देशमा भविष्य छैन भन्दै दिनहुँ हजारौं युवा विदेशी रहेको परिस्थितिलाई कांग्रेसले नजरअन्दाज गर्न नहुने महरले बताए । उनले महामन्त्रीले बिहीबार पेस गरेको प्रतिवेदनमा फरक मत राख्दै लोकतन्त्र आफैँमा पूर्ण हुने भएकाले सम्पूर्णत: लोकतन्त्र भनिरहन आवश्यक नहुने बताए ।

यसका साथै महरले पार्टीबाट सरकारमा सहभागी मन्त्री र सरकारको कार्यप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनले सरकार पदासीनहरूका लागि मात्र भएको र पार्टीका लागि प्रभावकारीहरूमा काम गर्न नसकेको बताए ।

नेता महरले पार्टीका सबै तहका समितिहरू पूर्णरूपमा निर्वाचित हुनुपर्ने व्यवस्था नीतिमै गर्नुपर्ने धारणा राखे । ‘चार वर्ष केन्द्रको कार्यकाल विधानले नै भनिसकेपछि चार वर्ष पुगेको दिन महाधिवेशन हुने व्यवस्था गर्नुपर्छ। पार्टी र सार्वजनिक क्षेत्रमा ५० प्रतिशत महिला समावेशीको उचित प्रयोग गर्नुपर्छ,’ उनले भने । यस्तो गर्न सकेमात्र पार्टी बलियो हुने उनले बताए ।
 

महाधिवेशन प्रतिनिधिका लागि सबै निर्वाचित भएर आउने व्यवस्था गरिनु पर्ने महरको माग छ । उनले तल्लो तहका समितिबाटै माथिसम्म पार्टीको चुनावमा टिम निर्माण गर्न नपाउने व्यवस्था गरे गुटको अन्त्य हुने धारणा राखेका छन् । 

समाजवादी र माओवादीसमेत निर्वाचनप्रति केन्द्रित रहेको समयमा कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले निर्वाचनलाई अवलम्बन नगर्नु दुखद भएको उनको धारणा छ ।

पार्टीमा आबद्ध व्यक्तिलाई अवसरको न्यायोचित वितरण गर्नु पर्ने बताए । ‘एक व्यक्तिले जहिले पनि अवसर पाउने अरूले अवसर नै नपाउने अवस्था आएमा पार्टीप्रति वितृष्णा पैदा हुन्छ । त्यसैले एक व्यक्तिलाई बढीमा तीन पटकसम्म एक ठाउँमा अवसर दिनुपर्छ । सधैँ उही व्यक्तिलाई अवसर दिइरहनु उपयुक्त हुँदैन। नयाँ व्यक्तिले अवसर पाउँदा नवीन सोचका साथ काम गर्छन्,’ महरले भने ।

कांग्रेस केन्द्रीय कार्यसमितिमा महामन्त्रीको प्रस्तावविरुद्ध फरक मत राखेका महरले महासमिति बैठक (नीति महाधिवेशन)मा पनि पुरक प्रतिवेदन ल्याउने तयारी गरेका छन् ।  ‘बाँकी कुरा म महासमिति बैठकमै लिखित रूपमा राख्छु,’ उनले भने ।

कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक गर्दै छ ।