काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन् । उनले यस्ता दिशामा थप नीतिगत र कानूनी सुधारका कार्य भइरहेको जानकारी दिए ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा प्राप्त स्रोत–साधन सीमित घरानामा अधिक केन्द्रित हुँदा त्यसबाट विभिन्न प्रकारका जोखिम सिर्जना हुने साथै सीमित समूहले मात्र प्रतिफल पाउने भएकाले यस्तो अवस्थाको निराकरण गर्न बैंकिङ क्षेत्रमा एक व्यक्ति वा समूहले लिन पाउने कुल कर्जा सीमा तोकिएको जानकारी दिए ।
उनले उद्योगी-व्यवसायी घरानाले विभिन्न क्षेत्रमा लगानी गर्दा देशभित्र उत्पादन र रोजगारी बढाउन साथै आवश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन मद्दत पुग्ने उल्लेख गरे ।
आगामी बजेटमा जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिन्छौँ
प्रधानमन्त्री प्रचण्डले आउँदो वार्षिक बजेट तथा कार्यक्रममा सबै मन्त्रालय र सरकारी निकायले जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने बताएका छन् ।
उनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न तथा जलवायु अनुकूलित विकास प्रक्रियालाई अवलम्बन गर्न सरकारले राष्ट्रिय अनुकूलन योजना २०२१–२०५० र पेरिस सम्झौताबमोजिम राष्ट्रिय रूपमा निर्धारित योगदान तर्जुमा गरी लागू गरिरहेको बताए ।
जलवायु परिवर्तन र जैविक विविधता संरक्षणको विषय १६औँ योजनामा विशेष रूपमा सम्बोधन गरिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले वन्यजन्तु संरक्षणका लागि २० वटा संरक्षित क्षेत्रमार्फत विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको जानकारी गराए ।


प्रतिक्रिया