विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री

विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताएका छन् । सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 

कार्यक्रममा प्रधानमन्त्रीले संसदमा विचाराधीन विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग समेत छलफल गरिएको जानकारी गराउँदै संसदमा दर्ता भएका संशोधन प्रस्तावहरूका आधारमा विधेयक संशोधन हुने बताए ।

प्रधानमन्त्रीले भने, ‘‘विधेयक संसदमा विचाराधीन रहेका कारण शिक्षक–कर्मचारीहरू, शैक्षिक क्षेत्रका ट्रेड यूनियनहरू, शिक्षाविद्, विद्यार्थीसम्वद्ध संघ–संस्थाहरू, सरोकार पक्ष र अभिभावकका समेत सुझावहरू समेटेर यसमाथि आवश्यक संशोधन गर्न सरकार सचेत छ। यसबारे मैले गठबन्धनमा पनि कुरा गरेको छु। प्रतिपक्षसँग पनि कुरा भएको छ। छिट्टै हामी निष्कर्षमा पुग्छौँ।’’

प्रधानमन्त्रीले विद्यालय कर्मचारी र बालशिक्षाका शिक्षकहरूको मुद्दा र विगतमा गरिएका सहमति कार्यान्वयनको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको जानकारी दिए । 

उनले भने, ‘‘विद्यालय कर्मचारी र बाल शिक्षाका शिक्षकहरूको मुद्दा पनि महत्वपूर्ण छ। यसलाई सम्बोधन गर्नेमा सरकार सचेत छ। शिक्षकसम्बद्ध संगठनहरू र सरोकार पक्षसँग विगतमा विभिन्न चरणमा राज्यले गरेका सहमति र सम्झौताहरू कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ।’’

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका वक्ताहरूले मञ्च समाजवादउन्मुख शिक्षाको बहसमा केन्द्रित हुनुपर्ने बताए ।