ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको दोस्रो दिन महामन्त्री शर्माले प्रतिवेदनमा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन् ।
महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गरेका छन् । उनले भने,“पटक पटकको संसद् विघटन र संविधानको रक्षका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए । त्यो गठबन्धनबाट उपलब्धि हासिल भएको छ तर, पनि असन्तुष्टि र चुनौतीहरू बढ्दै गएको देखिन्छ ।”
प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको उल्लेख गरेका छन् । एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेरनै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभार कांग्रेसको रहेको उनले बताए ।
महामन्त्री शर्माले कांग्रेसबाट सरकारमा सहभागी केही मन्त्रीको कार्यसम्पादन भूमिकामाथि उनले प्रश्न समेत उठाएका छन् । पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीले ‘बिल्कुलै’ प्रभावकारी भूमिका खेल्न नसकेको उनले उल्लेख गरेका छन् ।
तीनै तहमा पार्टीबाट सरकारमा रहेका प्रतिनिधिलाई जनअपेक्षाअनुसार काम गर्न महासमिति बैठकबाट निर्देशन दिनुपर्नेमा उनले जोड दिएका छन् । “जनअपेक्षाअनुसार सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ । कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक निश्चय छ । तर, केही मन्त्रीको भूमिका मन्त्रीका रूपमा प्रभावकारी बिल्कुलै देखिएको छैन,” प्रतिवेदनमा शर्माले लेखेका छन् ।
महामन्त्री शर्माले अर्बौँको ऋण लिएर बनाइएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन बन्दा मुलुक आर्थिक भारमा फसेको तर्क गरेका छन् ।
ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकमा मंगलबार समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले सो कुरा उल्लेख गरेका हुन् । “अर्बौँको ऋण लिएर हामीले बनाएका दुई अन्तर्राष्ट्रिय विमानस्थल एक ढंगले प्रयोजनहीन अवस्थामा छन् । मुलुककको अर्थतन्त्रतले चुनौती सामना गरिरहेको बेला विमानस्थलहरूको यो अवस्था हाम्रा लागि बिल्कुलै सुखद छैन,” महामन्त्री शर्माले प्रतिवेदनमा लेखेका छन्, “यस्तो समयमा बलियो राजनीतिक र कूटनैतिक इच्छाशक्ति अपेक्षित छ । जसमार्फत उत्तर र दक्षिणका दुवै मित्रराष्ट्रसँग हामीले सार्थक व्यावसायिक संवाद गर्न सकौँ ।”
विश्वप्रकाश शर्माको प्रस्तावको पूर्णपाठ :


प्रतिक्रिया