देशको अर्थतन्त्रले संविधानलाई धान्न सकेन : सांसद भण्डारी

देशको अर्थतन्त्रले संविधानलाई धान्न सकेन : सांसद भण्डारी



काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले उत्कृष्ट संविधान बनाएपनि देशको अर्थतन्त्रले धान्न नसकेको बताएका छन् । उनले यतिधेरै मन्त्रीहरू प्रदेशदेखि केन्द्रसम्म आवश्यक नभएको बताए । ३६ हजार जनप्रतिधि र एक लाख कर्मचारी भएपनि जनताको पक्षमा काम गर्न नसकेको उनकाे तर्क छ ।

उनले भने, ‘हामीले उत्कृष्ट संविधान बनाएको छौं । संविधान राम्रा बनाएपछि हाम्रो अर्थतन्त्रले धान्न सकेन । हामी यतिधेरै सांसद्, प्रदेश र प्रदेशसभा सदस्य, यतिधेरै मन्त्रीहरु प्रदेशदेखि केन्द्रसम्म आवश्यक थियो ? के सरकारको काम ठेक्कापट्टा लगाउने मात्रै हो ? आफ्नो स्वार्थमात्रै हो ?

सांसद भण्डारीले नेपालको अर्थव्यवस्था १०–१२ जनाको हातमा रहेको बताएका छन् । ‘हामीले बहुदलीय व्यवस्था प्राप्त गरेको ३४ वर्ष भयो । तर आर्थिक रुपमा यो संसदमा बारम्बार प्रश्न उठिरहेको छ– किन १०/१२ जनाको हातमा अर्थ व्यवस्था गयो ?’ भण्डारीले प्रश्न गरे ।

अर्थतन्त्रका एक भन्दा बढी क्षेत्रमा एकै व्यक्तिको स्वामित्व रहेको भन्दै भण्डारीले यो गलत भएको बताए । ‘उसैको हातमा बैंक छ, उसैको हातमा उद्योग छ, उसैको हातमा बीमा छ, उसैको हातमा जलस्रोतको लाइसेन्स छ । उसैको हातमा हस्पिटल छ, उसैको हातमा स्कुल छ, उसैको हातमा जमिन खन्ने लाइसेन्छ छ’ सांसद भण्डारीले भने, ‘अब यो देश कसरी बन्छ ?’