दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताएकी छन् ।
नेकपा माओवादी केन्द्रको सहिद सप्ताहका अवसरमा दाङको घोराही उपमहानगरपालिका–६ स्थित सहिद पार्कमा गणतन्त्र स्थापनाका लागि प्राण आहुति गरेका सहिदको सालिकमा माल्यार्पण गर्दै उनले अहिलेको व्यवस्था र परिवर्तनप्रति धेरै सहिदको त्याग र बलिदानलाई कोही कसैले पनि अवमूल्यन गर्न नमिल्ने बताइन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उन्नत व्यवस्था रहेको हुँदा व्यवस्था माथि प्रश्न उठाउने ठाउँ नरहेको उनको भनाइ थियो । अहिले अस्थिरता चाहनेले विद्यमान व्यवस्थामाथि आलोचना गरे पनि गणतन्त्र स्थापनाको जग र यसको आयामलाई सबैले बुझ्न आवश्यक रहेको बताइन् ।
मन्त्री शर्माले मुलुकमा व्यवस्था परिवर्तनका लागि भएको लामो द्वन्द्वका कारण पीडामा परेका व्यक्ति, परिवारलाई न्याय दिलाउने काम अझै अधुरै रहेको हुँदा यसको छिनोफानो गर्न अब ढिलाइ गर्न नहुने बताइन् ।
‘मुलुकमा शान्ति प्रक्रियाको थालनी भएको दुई दशक पुग्न थालेको छ, शान्ति प्रक्रियाको काम छ महिनामा टुङ्गो लगाउने कुरो थियो वास्तवमा निकै ढिलो भइसक्यो । अब शान्ति प्रक्रियाको बाँकी कामलाई विशेष प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो सार्थक टुंगाेमा पुर्याउनुपर्छ । यसका लागि सरकार गम्भीररुपमा लागिपरेको छ। सरकारको विशेष प्रक्रियामा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसदबाट पारित गर्ने प्रक्रियामै छौं, ‘उनले भनिन् ।
मन्त्री शर्माले बेपत्ता योद्धाहरुको विषयलाई सम्बोधनका लागि विधेयक पारित नै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै जनआन्दोलनका क्रममा घाइते भएका योद्धाको उपचारको सुनिश्चितासहितको कार्यविधि बनेको बताइन् ।
माओवादीले हरेक वर्षको फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताहका रूपमा मनाउँदै आएको छ ।


प्रतिक्रिया