काठमाडौं । तेह्रथुम छथर गाउँपालिका-५ घर भई भक्तपुर बस्दै आएका गोपालप्रसाद ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चाँगुनारायण नगपालिका-६ का २९ वर्षीय सन्तोष सुवाल रहेका छन् ।
सुवाललाई शनिबार काभ्रेपलाञ्चोक मन्डन देउपुर नगरपालिका-६ बाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । सूर्यविनायक-८ सिपाडोलमा बस्दै आएका ३३ वर्षीय ढकालको गत फागुन ९ गते राति हत्या भएको थियो । उनको सोही ठाउँको एउटा गोठमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
हत्यापछि ढकालको मोबाइलसहित फरार भएका सुवालको साथबाट मोबाइलसमेत बरामद भएको छ । ९ गते राति ८ बजे ढकाल कोठाबाट निस्केका थिए । त्यसपछि नजिकैको पसलमा खानपिनपछि सुवालसँग गोठतर्फ गएका थिए ।
त्यहाँ पुगेपछि ढकालको मोबाइलबाट सुवालले श्रीमती रेनुलाई फोन गर्दै दुई लाख रुपैयाँ लिएर आउनू भनी धम्की दिएका थिए । भोलिपल्ट वृत्त जगातीमा रेनुले खोजीका लागि निवेदन दिएकी थिइन् । खोजी सिलसिलामा फागुन ११ गते बिहान ढकालको शव फेला परेको थियो । सुवालले ढकाललाई ९ गते राति नै हत्या गरेको अनुसन्धानले देखाएको छ ।
यस्तो थियो हत्याको कारण
सुवाल चाँगुनारायण घर भए पनि सिपाडोल-८ मा श्रीमती साथ डेरा बस्दै आएका थिए । उनी सामान्य पृष्ठभूमिका मानिस हुन् । ढकाल र सुवालको त्यही दिन राति मदिरा पसलमा चिनजान भएको रेग्मीले बताए ।
मदिरा सेवन गर्ने क्रममा दुबै नजिकिए । ढकाल र सुवालकै योजनामा उनीहरूले श्रीमती रेनुलाई ‘प्राङ्क’ कल गरी रकम मागेका थिए । ‘हत्याअघि नै दुई लाख रुपैयाँ मागेर जिस्क्याउने योजनाअनुसार दुबैको सहमतिमा फोन गरेको देखिन्छ,’ उनले भने ।
मदिराको सुरमा दुबै जना सुवालको कोठा गए । रेग्मीका अनुसार कोठामा पुगेपछि सुवाल र ढकालको झगडा परेको थियो । ‘ढकालले सुवालकी श्रीमतीलाई दुर्व्यवहार गरेको, हात समातेको देखेपछि दुबै जनाबीच झगडा भएको खुलेको छ,’ एसपी रेग्मीले भने ।
झगडापछि दुबै जना हातपात गर्दै कोठाबाट निस्किए । वारिपट्टीको रोशन बस्नेतको कच्ची गोठसम्म पुगे । झगडा भइरहेको बेला सुवालले अचानक ढकालमाथि इँटा र ढुंगा प्रहार गरेको रेग्मीले बताए । टाउकोमा इँटा-ढुंगा प्रहार गर्दा ढकालको मृत्यु भयो । त्यसपछि उनले गोठमा परालले शव छोपे । ढकालको मोबाइलसमेत लिएर सुवाल फरार भएका थिए ।
घटना भएपछि जिल्ला प्रहरी परिसर भक्तपुर, अपराध अनुसन्धान कार्यालय र वृत्त जगातीले अनुसन्धान थालेका थिए । रकम माग गरिएकाले सुरूमा अपहरणपछि हत्या भएको हुनसक्ने आशंका गरिए पनि अनुसन्धानले त्यसलाई सहारा नदिएको रेग्मीले बताए । ढकाल कोठाबाट निस्किएपछि नजिकैको मदिरा पसल पुगेका थिए । त्यहीँ उनीहरूको चिनजान भएको थियो ।
त्यो पसलमा बाहिर सडकमा मागेर हिँड्ने एक जना केटा र केटी छिरेका थिए । ढकाल र सुवाल निस्किनुअघि नै उनीहरू बाहिरिएका थिए । दुबैलाई प्रहरीले पक्राउ गरी सोधपुछसमेत गरेको थियो ।


प्रतिक्रिया