बालेनलाई सांसद साहको चेतावनी : ज्यादती नरोकिए काठमाडौं छोड्ने दिन आउला

बालेनलाई सांसद साहको चेतावनी : ज्यादती नरोकिए काठमाडौं छोड्ने दिन आउला



काठमाडाैं । संघीय सांसद किरन कुमार साहले काठमाडाै‌ महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले कवाडीहरुमाथि गरिरहेको ज्यादती नरोकिएमा काठमाडाैं नै छोड्न सक्ने अवस्था आउने चेतावनी दिएका छन ।

काठमाडाैंस्थित कवाड व्यवसायीहरुको प्रदर्शनमा सहभागी हुँदै सांसद साहले आन्दोलनलाई सिङ्गो नेकपा एमाले पार्टीले साथ सहयोग समर्थन गर्ने प्रतिवद्धता जनाएका छन् । महानगरपालिकाले कवाडीहरुमाथि गरेका ज्यादती विरुद्ध आइतबार कवाड व्यवसायीहरुले दोश्रो दिन सड़क प्रदर्शन गरेका छन् ।

महानगरको हस्तक्षेविरुद्ध गरिएकाे प्रदर्शनलाई सम्बोधन गर्दै सांसद साहले देशमा हरेक नागरिकले बिनारोकताेक व्यापार व्यवसाय गर्ने वातावरण निर्माण गर्न  सरकारसंँग माग पनि गरे । 

उनले बालेनले गरेको हर्कत बन्द गर्न  सरकारको ध्यानाकर्षण गराए । बालेनको पछिल्लो कदम तानाशाही भएको भन्दै उनले भर्त्सनासमेत गरे । उनले  एमाले साथमा रहेको भन्दै सडकदेखि सदनसम्म कवाड व्यवसायीको पक्षमा जोडदार आवाज उठाउने बताए ।

‘कवाड व्यवसायीहरु बर्षौंदेखी काठमाडाैंमा रहेर व्यापार गर्दै आएका छन् । तर, महानगर प्रमुख बालेन अदालत र नेपालको कानुनभन्दा माथि छैनन्, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तपाईंहरुको साथमा छ,’ उनले भने, ‘बालेनजी तपाईं जुन उद्योगी, ब्यवसायी, श्रमजीवीको अधिकार खोस्न लागि पर्नु भएको छ ।  कहीं तपाइँलाई काठमाडाैं छोड्न नपरोस् ।’

कवाड व्यवसायीको माग बालेनले नभएर काठमाडौं महागरपालिकाकाले सम्बोधन गर्नुपर्ने उनकाेे भनाइ छ । सांसद किरण कुमार साहले काठमाडौंलाई सुन्दर सफा र स्वच्छ बनाउन कवाड व्यवसायीको ठूलो भूमिका रहेको चर्चा गर्दै उपत्यकाबाट दैनिक ७० ट्रक कवाड बाहिर जाने गरेको बताए ।

आमजनता पार्टी निकट आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहले पनि कवाड व्यवसायीको अधिकारको लागि आवाज उठाए ।

काठमाडौं महानगरालिकाकाले कवाडी हरुलाई व्यवसाय बन्द गर्न सूचना जारी गरेपछि उनीहरु आन्दोलित भएका छन् । कावाडीहरुको आन्दोलनलाई आमजनता पार्टीका अध्यक्ष प्रभु साह, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले समर्थन जनाएका छन् ।