तीन मन्त्रीको शपथ गराउने प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई जानकारी

तीन मन्त्रीको शपथ गराउने प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई जानकारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबिच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् । प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन् ।

विहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको हाे ।

गिरी पर्वत, तामाङ नुवाकोट-१ र अर्याल रास्वपाबाट सामानुपातिकमा निर्वाचित सांसद हुन् । यसअघि माओवादीबाट पुन र रास्वपाट सभापति रवि लामिछाने आजै सरकारमा सहभागी हुने तयारी भएको थियो ।

तर मन्त्रालयको भागवण्डा र मन्त्रीहरूको वरियता नटुंगिएसम्म शीर्ष नेताहरू सहभागी नहुने निर्णय भएपछि यी तीन नेता सरकारमा सहभागी हुन लागेका हुन् ।

आज पाँच बजे शपथको कार्यक्रम आयोजना गरिने बताइएको छ ।

अरु नेताहरू मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुनेछन् ।