काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कसले रोकेको ?’ भनी प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले नयाँ गठबन्धनमा आबद्ध चार दलका नेताले हस्ताक्षर गरेको आठबुँदे सहमतिपत्रमाथि प्रश्न उठाउँदै उनले यस्तो सोधेका हुन् ।
“संक्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ? नेपाली कांग्रेसले ? अनि, तपाईंले यही कुरा लेखेर हस्ताक्षर गर्नुभयो भने नेपाली कांग्रेसका प्रति न्याय गर्नुभो ? विश्वास गर्नुभो ?,” लेखकले प्रश्न गरे ।
लेखकले आठबुँदे सहमतिमै उल्लिखित संघीयता कार्यान्वयनसम्बन्धी विषयमा ‘कानुन पनि बनेन, सबै तहका सरकार १४ महिनामा प्रभावकारी भएनन् भने के गर्नुभयो ?’ भनी थप प्रश्न गरे । संसद्का दुई अधिवेशनबाट एउटा मात्र विधेयक पारित गरिएको भन्दै उनले ‘अरू गर्न कांग्रेसले रोक्यो ?’ भनी प्रश्न पनि गरे ।
उनले ‘गर्न नसकेको कामको जिम्मेवारी मन्त्रीले लिने ?’ भन्दै थप प्रश्न गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सहकार्यमा रहँदा मन्त्रीहरूको कामप्रति असन्तुष्ट भएको र गठबन्धन तोडिएको बताएपछि उनले यस्तो प्रश्न गरेका हुन् ।
यही फागुन २१ गते सत्तागठबन्धनमा फेरबदल आएको थियो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको पुनर्गठित सरकार संविधानको रक्षा, विद्यमान व्यवस्थाको सुदृढीकरण र मुलुकका दिगो शान्ति, सुशासन, समृद्धि र स्थिरता कायम गर्न सफल होस् भन्ने कामना गर्दै उनले विगतमा त्यही लक्ष्यका साथ आफूहरुसमेतले बनाएको गठबन्धन एकाएक टुटेको विषयमा आश्चर्य व्यक्त गरे ।
“हामीले नेताहरुका बीचमा मात्रै होइन जनताका माझमा कसम खाएर निर्वाचन जितेर आएका थियौँ । नेपाली कांग्रेसले गठबन्धनको संस्कृति र मूल्य, मान्यताअनुसार निष्ठा र मर्यादाका साथ सहयात्रा पालना गरिरहेको अवस्थामा पछिल्लो समयमा गठबन्धनप्रति अविश्वास हुने गरी प्रस्तुत हुने प्रवृत्ति बढ्यो”, प्रमुख सचेतक लेखकले भने, “सानातिना मुद्दा उछालेर प्रधानमन्त्री दाहालले एकपक्षीय ढङ्गले हामीसँगको गठबन्धन तोड्नुभयो ।”
प्रतिपक्षमा रहेर रचनात्मक भई नमूनायोग्य काम गर्ने स्मरण गराउँदै उनले राम्रा कामको तारिफ गर्ने र कमजोरीका विषयमा रचनात्मकरुपमा विरोधी हुने बताए । नेता लेखकले संविधानमा मिश्रित निर्वाचन प्रणाली भएकाले कुनै पनि एक दलको बहुमत आउन नसक्ने र संविधानले गठबन्धनको संस्कृतिलाई आमन्त्रण गरेकाले गठबन्धन बन्ने र भत्कने क्रमलाई सामान्यरुपमा लिन सकिने भए पनि अहिले फेरिएको गठबन्धनको कारण र औचित्य पुष्टि हुन नसक्ने टिप्पणी गरे । उनले भने, “प्रधानमन्त्रीले कुनै मन्त्रीले काम गरेन वा काम गर्न दिएन भनेर भाग्न पाइँदैन । प्रधानमन्त्री देश र सरकारको नेता हो । समग्र कामको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ ।”


प्रतिक्रिया