काठमाडौं । भैरहवाबाट पक्राउ पर्नुभएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई लाजिम्पाटस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को कार्यालय लगिएको छ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई जहाजबाट काठमाडौँ ल्याएर सीआईबी कार्यालय लगिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
महरालाई आज नै म्याद थपको लागि सरकारी वकिल कार्यालय हुँदै काठमाडौँ जिल्ला अदालत बबरमहल लगिने छ । सीआईबीको स्कारपिओमा राखेर विमानस्थलबाट सीआईबी कार्यालय लगिएको हो ।
यसैबीच सर्वाेच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका थिए ।
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।
उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन् । राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ भने पुन पनि केही दिनअघि पक्राउ परिसकेका छन् ।


प्रतिक्रिया