विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको बैठकले इलाम–२ को उपनिर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । विराटनगरमा मङ्गलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै बैठकले केन्द्रीय सरकारको गठबन्धन अनुसार कोशी प्रदेश सरकार निर्माण गर्ने प्रदेश पार्टीका पदाधिकारी र संसदीय दलबिच छलफल गरेर केन्द्रमा लबिङ गर्ने निर्णय पनि गरेको छ ।
एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाका अनुसार बैठकले ११ जिल्लाको अधिवेशनको मिति पनि तय गरेको छ । यस्तै सदस्यता नवीकरण र वितरणलाई तीव्रता दिइने निर्णय भएको उनले जानकारी दिए । एमालेले चैत मसान्तभित्र सदस्यता नवीकरण र वितरण गरिसक्नु पर्ने समय तोकेको छ ।
एमालेको जिल्ला समिति इलामले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बन्ने ६ जना आकाङ्क्षीको नाम प्रदेशलाई सिफारिस गरेको थियो । सोही सिफारिसलाई जस्ताको तस्तै केन्द्रमा पठाउने निर्णय भएको अध्यक्ष खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया