चीनको औद्योगिक उत्पादनमा वृद्धि

चीनको औद्योगिक उत्पादनमा वृद्धि



बेइजिङ । चीनको औद्योगिक उत्पादन पाँच महिनायता पहिलोपटक वृद्धि भएको आइतबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको औद्योगिक उत्पादन वृद्धि गर्ने चिनियाँ प्रयासले सकारात्मक संकेत गरेको नीति–निर्माताहरूले बताएका छन् ।

चिनियाँ कलकारखानाको उत्पादनको समीक्षा गर्ने पिएमआई सूचांक मार्च महिनामा ५०.८ देखिएको छ । चिनियाँ तथ्यांक ब्युरो (एनबिएस)का अनुसार यो सूचांक गत फेब्रुअरीमा ४९.१ विन्दुमा रहेको थियो ।

पिएमआई सूचांक ५० भन्दा बढी हुनु भनेको औद्योगिक उत्पादनमा वृद्धि भएको संकेत हो । यसअघि चीनको पिएमआई गत सेप्टेम्बरमा मात्र वृद्धि देखिएको थियो। ब्लुमबर्गले गरेको सर्वेक्षणले पनि मार्च महिनामा चीनको औद्योगिक उत्पाद वृद्धि हुने देखाएको थियो ।

कोभिड महामारीका वर्षहरूमा कडा नियम लागू गरेको चीनमा पछिल्ला वर्षहरूमा घरजग्गा कारोबारमा निरन्तर संकट, उच्च युवा बेरोजगारी र मुद्राप्रदायमा दबाबसमेतका समस्या देखिएका थिए ।

अर्कोतिर विश्वभर नै कमजोर मागका कारण चिनियाँ सामानको माग पनि घटेको थियो । बेइजिङले मार्च महिनाको सुरुमा सन् २०२४ मा वार्षिक वृद्धि पाँच प्रतिशत हासिल गर्ने लक्ष्य सार्वजनिक गरेको थियो, तर यो वृद्धिको लक्षलाई धेरै अर्थशास्त्रीले महत्वाकांक्षी भन्दै चीनको आलोचना गरेका थिए ।

चिनियाँ अधिकारीहरूले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न उपाय घोषणा गरेका थिए जसबाट मिश्रित परिणाम हासिल भएका थिए। तर, एउटा सकारात्मक पाटोका रूपमा फेब्रुअरी महिनामा उपभोग्य मूल्यमा सामान्य वृद्धि भएको थियो ।

चीनको गैरऔद्योगिक उत्पादनको पिएमआई सूचांक भने मार्चमा सुधार भएर ५३ विन्दुमा पुगेको छ । अघिल्लो महिना यस्तो पिएमआई ५१.४ विन्दुमा रहेको थियो ।

गत वर्ष चीनको औद्योगिक वृद्धिमा तीव्र निराशाजनक अवस्था रहेको थियो। दशककै सबैभन्दा कमजोर अवस्थामा अर्थतन्त्रको वृद्धि भएपछि सरकारले शृंखलाबद्ध रूपमा आर्थिक राहत प्याकेज घोषणा गरेको थियो ।

आधिकारिक विवरणमा सन् २०२३ मा चीनको कुल गार्हस्थ्य उत्पादन ५.२ प्रतिशत रहेको थियो । तर, यस वृद्धिलाई अर्थशास्त्रीहरूले चीनले बढाइचढाई गरेको दाबी गरेका थिए। चीनको यो वृद्धि सन् १९९० को दशक र कोभिड महामारीका वर्षहरूपछि सबैभन्दा कमजोर थियो ।