झलनाथ खनाल किन पुगे बालुवाटार ?

झलनाथ खनाल किन पुगे बालुवाटार ?



काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र खनालको भेटवार्ता भएको हो ।

हिजो बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सांसद मेटमणि चौधरी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निजी निवास बूढानीलकण्ठ पुगेका थिए । बूढानीलकण्ठमा सभापति देउवा, अध्यक्ष नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको थियो ।

उक्त भेटवार्तामा जसपाका सरोज यादव नेतृत्वको मधेस प्रदेश सरकार जोगाउने, सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी हुने र गण्डकीमा सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई विश्वासको मत पुर्याउनेलगायतका विषयमा छलफल भएको थियो ।

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा रहे पनि कुनै छलफलमा सहभागी हुन नपाएको र आफूहरु अपमानित भएर बसिरहेको भन्दै विपक्षी गठबन्धनको बूढानीलकण्ठ बैठकमा दुखेसो पोखेका थिए । बैठकमा मधेस सरकार सत्ता पक्षको हातमा जान नदिने छलफलमा अध्यक्ष नेपालले आफू यो विषयमा सकारात्मक भएको र पार्टीमा छलफल गरेर निर्णय दिने बताएका थिए ।

अध्यक्ष नेपाल विपक्षी गठबन्धनको बैठकको लागि बूढानीलकण्ठ गएपछि एकीकृत समाजवादीका सम्मानित नेता खनाल बालुवाटारतिर लागे । एकीकृत समाजवादीभित्र सरकार छाड्ने कि नछाड्ने भन्नेमा मतभेद छ । विगतमा पनि पार्टीको निर्णयको सन्दर्भमा नेपाल र खनालबिच मतभेद रहदै आएको थियो । खनाल एमालेतिर झुकाव राख्छन् भने नेपाल एमाले बाहेको गठबन्धन चाहन्छन् ।

खनाल र प्रधानमन्त्री दाहालबिच के निर्णय भयो भन्ने कुरा केही दिनको राजनीतिक घटनाक्रमले प्रष्ट पार्ने नै छ । यद्यपी, बूढानीलकण्ठ बैठकले यतिबेला सत्ता गठबन्धनमा हलचल ल्याइदिएको छ ।