काठमाडौं । सामाजिक संजालमार्फत काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिन आग्रह गरेका छन् । न्युरोडलाई अझै व्यवसायिक र सुन्दर बनाउँन एकजुट बन्न अपील समेत गरेका छन् ।
उनले अप्रत्यक्ष रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई इंगित गर्दै प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ भनेका छन् ।
केही दिन अगाडि बालेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकीदेखि महाराजगञ्जसम्मको रिङरोड विस्तारका काम अघि नबढाएको भन्दै महानगरपालिकाको गाडीले मीनभवनस्थित सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय अगाडि एक ट्रक धुलो खन्याउँदै गरेको भिडिओ सार्वजनिक गर्दै आक्रोश व्यक्त गरेका थिए । त्यसको लगत्तै सडक डिभिजन कार्यालयले विज्ञप्ती निकालेर खण्डन गरेको थियो । न्यूरोडमा सडक भत्काउन रोक लगाएपछि आक्रोशित बनेका बालेनले त्यस्तो हर्कत गरेको सडक डिभिजन कार्यालयको बुझाई छ ।
सडक डिभिजन काठमाडौंले जेष्ठ १६ गते काठमाडौं महानगरपालिकालाई पत्र लेख्दै भत्काएको सडक दुई दिनभित्र पुर्नस्थापना गर्न निर्देशन दिएको थियो र अन्यथा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारवाही गर्ने चेतावानी समेत दिएको थियो ।
यसलाई प्रतिशोधका रुपमा बुझेका बालेनले सामाजिक संजालमा लेखेका छन्-
एउटा रोचक कुरा कुरा पढ्नु हुन्छ ?
न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ रु
त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।
प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।
विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ ।
प्रतिक्रिया