प्रेमिकाले धोका दिएपछि भिडियो कल गरेर प्रहरी जवानले आफैँलाई हाने गोली

प्रेमिकाले धोका दिएपछि भिडियो कल गरेर प्रहरी जवानले आफैँलाई हाने गोली



काठमाडौं । काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका २२ वर्षीय अजित गोलेले प्रेमिकाले धोका दिएपछि गोली हानेर आत्महत्या गरेको खुलेको छ ।

घटनास्थलकाे मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा दुबईमा रहेकी प्रेमिकासँग विवाद हुँदा भिडियो कल गरेर गालेले आफैँले बोकेको राइफलले अनुहारमा गोली हानेर आत्महत्या गरेको खुलेको प्रहरी स्रोतले बताएको छ ।

घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइल समेत बरामद भएको थियो ।

दोलखा मेलुङ ४ घर भएर काठमाडौं बस्ने जवान गोलेको नेपाल प्रहरीको कपनस्थित केन्द्रीय विशेष कार्यदलमा दरबन्दी थियो । उनी सङ्घीय संसद् सुरक्षा बेसमा कार्यरत थिए ।

प्रहरीका अनुसार प्रेमिकालाई गोलेले आफ्नै खर्चमा दुबई पठाएको समेत खुलेको छ । करिब ५ महिनाअघि आफ्नी प्रेमिकासँग गोलेले इन्गेजमन्ट समेत गरेका थिए । उनले २ लाख खर्च गरेर प्रेमिकालाई दुबई पठाएका थिए ।

प्रहरी जवान गोलेले पारिवारिक सहमतिमा नै विवाह गर्ने योजना समेत बनाइसकेका थिए ।

एकातिर सम्बन्ध बिग्रिएको अर्काेतिर पैसा खेर गएकोले चिन्ता रहेको परिवार स्रोतले बताएकाेले गोलेले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आकलन छ ।

प्रेमिकासँग विवाद भएको बेलामा पटक–पटक उनले ‘मर्छु’ भन्दै म्यासेज पठाउने गरेको समेत भेटिएको प्रहरीले बताएकाे छ ।

गोले संसद् भवनको पश्चिमपट्टिको २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । बुधबार बिहान ८ बजे ड्युटीमै खटिएका बेला शौचालयमा पुगेर राइफलले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए । उनले ८ बजेर २ मिनेट जाँदा गोली हानेको प्रहरीकाे अनुमान छ ।

भुईँमा बन्दुक राखेर निधारतर्फ तेर्साएर खुट्टाले ट्रिगर दाबेको जस्तो देखिएको प्रहरीले जानकारी दिएकाे छ । उनले आफैंले बोकेको इन्सास बन्दुकबाट १ राउण्ड गोली हानेको पाइएको छ । गोलेको ड्युटी बिहान ६ बजेदेखि १० बजेसम्म राखिएको थियो ।