काठमाडौं । दूतावासको सहकार्यमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले राष्ट्रपति रामचन्द्र पौडेलको नागरिक अभिनन्दन गरेको छ । हालै जर्मनीको भ्रमणमा रहेका बेला राजदूत निवासमा आयोजित कार्यक्रममा एनआरएनए जर्मनीले राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन गरेको हो ।
कार्यक्रममा एनआरएनए जर्मनी र नेपाली समुदायले पुष्पगुच्छा र खादाले राष्ट्रपति र प्रथम महिलाको स्वागत गरेका थिए । कार्यक्रममा एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिलबहादुर गुरुङले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने कार्यक्रम संयोजक विजय मोक्तानले अभिनन्दन पत्र पढेर सुनाएका थिए । एनआरएनए जर्मनीकी अध्यक्ष निनाम्मा राईले अभिनन्दन पत्र राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा राष्ट्रपति पौडेलले एक पटकको नेपाली सधैंको नेपाली रहेको धारणा राख्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सन आग्रह गरे। राष्ट्रपति पौडेलले भने, ‘जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्याउन म सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु ।’
रात्रीभोजसहित आयोजना भएको कार्यक्रममा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले स्वागत मन्तव्य राखेका थिए । उनले जर्मनी र नेपालबीच लामो समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक पक्षबारे जानकारी गराएका थिए। साथै, जर्मनीमा रहेका नेपालीको अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेको सहकार्य र समन्वयबारे राजदूत खड्काले जानकारी गराए ।
कार्यक्रममा एनआरएनए जर्मनी एनसीसी र एलसीसीका पदाधिकारीहरु, जर्मनीस्थित विभिन्न सामाजिक, संघ–संगठनका पदाधिकारीहरु, बेलायत र बेल्जियमलगायतका एनआरएनए अभियान्ताहरुको उपस्थिति रहेको थियो । दूतावासका डेपुटी चिफ अफ द मिसन सागरप्रसाद फुयालले कार्यक्रम सञ्चालन गरेका थिए ।
यो पनि-
प्रतिक्रिया