कोशीको मुद्दामा सोमबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा

कोशीको मुद्दामा सोमबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा



काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सोमबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा भइरहेको बहसमा रिट निवेदकले जवाफ दिन बाँकी रहेको छ ।

सोमबार मुख्यमन्त्री हिक्मतबहादुर कार्कीका तर्फबाट बहस भएको थियो । सोमबारको बहसपछि मंगलवार जवाफ दिन करिब एक घण्टा समय चाहिने माग रिट निवेदकहरूले गरेपछि हेर्दाहेर्दैमा राखिएको हो ।

सोमबार मुख्यमन्त्री कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टिकाराम भट्टराई, रमण श्रेष्ठ, रमेश बडाल, प्रकाश केसी ,अधिवक्ताहरू माधव बस्नेत, भिर्माजुन आचार्य, हर्कसिंह रावल लगायतले बहस गरेका थिए । भोलि अधिवक्ता एवं कोशी प्रदेश नेकपा एमालेका सचेतक रेवतीरमण भण्डारीले बहस गर्ने अनि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ ।

जवाफी बहसका लागि वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, बद्रीबहादुर कार्की लगायतले तयारी गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएको आफूलाई हटाउन नमिल्ने अवस्थामा हटाएर नयाँ सरकार गठन गरेको दाबी गर्दै उक्त निर्णय बदर माग गरेर उनले रिट दायर गरेका थिए ।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएकोले हिक्मत कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै कार्कीले आफू मुख्यमन्त्रीमा फर्कनुपर्ने रिटमा अन्तरिम आदेश माग गरिएको छ ।