रामबहादुर बम्जन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर

रामबहादुर बम्जन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर



काठमाडौँ । ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको छ । साेमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

उनको सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकेको छ ।

आफूलाई तपस्वी भन्ने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो ।

घटना भएका वेला पीडित बालिका १५ वर्षकी मात्र थिइन् । उनी १८ वर्षकी भएपछि २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हाे। करणीपछि बम्जनले पीडितलाई डर, धाक, धम्की देखाउने गरेका थिए ।

उजुरीपछि बम्जन २४ पुसमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ स्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । लामो समय लुकेर बसेका उनलाई पक्राउ गर्न प्रहरीलाई हैरान परेको थियो ।