सिमलताल पहिराे : ‘५ पटक ठक्कर खाएर बस नदीमा पुगेको थियो’

सिमलताल पहिराे : ‘५ पटक ठक्कर खाएर बस नदीमा पुगेको थियो’

गाडीबाट कसरी बाहिर निस्कियौँ थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्र सबै थाहा पायौँ



चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिराेले त्रिशूली नदीमा बस खस्दा बाँच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

एक जनाको भरतपुर अस्पतालमा र दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनीहरू हिजाे बेलुकी साढे ७ बजे काठमाडौंबाट रौतहटकाे गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार थिए । उनीहरूमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताए । ‘बसमा हामी ३० देखि ३५ जना थियौँ । त्यसमध्ये तीन जना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निस्कियाैँ, पौडिएर बाँच्न सफल भयौँ ।’

‘खाना खाएर बस चढेको एक घण्टापछि बस दुर्घटना भएको उनले सुनाए । ‘हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्नेसमेत थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्र सबै थाहा पायौँ’, उनले थपे, ‘बस पानीमा धेरै मुनि पुगेको थियो । हामी झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भयौँ ।’ टाउकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उपचार गरेर फर्किँदै गरेका राैतहटकाे गरुडा नगरपालिका–९ का जुगेश्वर राय यादवले आफ्नो परिवारका चार जना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको सुनाए । बसमा उनका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाती सवार थिए । काठमाडौंमा उपचार गरेर घर फर्कँदै गर्दा उनको परिवारका पाँच जना दुर्घटनामा परेका हुन् ।

‘काठमाडौंमा छ दिनसम्म उपचार गरेर फर्किँदै थियौँ । एक्कासी नसोचेको घटना घट्यो । पाँचपटक ठक्कर खाएर बस बल्ल नदीमा पुगेको थियो’, उनले सम्झिए, ‘पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए । अरूको अवस्था के होला, अहिलेसम्म थाहा छैन । बसको चालक र सहचालक पनि त्यही डुब्नुभयो ।’

बस पहिरोमा पर्नुअघि आधा घण्टा जति जाम परेको भन्दै उनले सुनाए, ‘जाम खुलेसँगै बिस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा बस खसेको हो । बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भएँ, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ ।’ उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ता ‘डिस्चार्ज’ भएका छन् । अहिले बेपत्ता बसकाे खोजी कार्य जारी छ । नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजी र सवार यात्रुको उद्धारमा लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

यसैबीच नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई वटा बसमध्ये एउटामा सात जना भारतीय नागरिक रहेका खुलेको छ ।