काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री जम्कट्टेलले आइतबार बसेको प्रदेश सभाको बैठकमा राजीनामा घोषणा गरेका हुन् ।
नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन गत असार २४ गते फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए ।
मुख्यमन्त्री जम्कट्टेलले अल्पमतमा परेपछि प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न पेस गरेकाे प्रस्ताव अगाडि बढाउने कार्यतालिका रहेकामा उनले मार्ग प्रसस्त गर्न भन्दै राजीनामा घोषणा गरेका हुन् ।
राजीनामा घोषणा गर्दै मुख्यमन्त्री जम्कट्टेलले भने, ‘उहाँले पहिलो र दोस्रो मिलेर सरकार बनाउने अवस्थामा हामीले लिने विश्वासको मतले सार्थकता पाउन सक्दैन त्यसैले नयाँ सरकार बनाउन मार्ग प्रसस्त गर्ने निर्णयमा पुगेका हौँ ।’
उनले संस्कारयुक्त राजनीतिका लागि मतदानको प्रक्रियामा नजाने निर्णयमा पुगेको बताए । उनले प्रदेशको विकासका लागि सबै दलहरु मिलेर जानुको विकल्प नरहेको जिकिर गरे ।
यसअघि उनले प्रदेशलाई अधिकारविहीन भएको भन्दै कांग्रेस र एमालेबिचभएको समीकरण प्रदेशको अधिकारका लागि नभएको बताए ।
संविधान संशोधन सहज विषय नभएको र देशले स्वीकार नगर्ने बताउँदै उनले निर्वाचन प्रणाली परिवर्त गर्ने हो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए ।
उनले स्थायित्व खोजेको हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति जानसक्नु पर्ने बताउँदै अहिले भएको समीकरण परिवर्तन स्थायित्वका लागि नभएको जिकिर गरे । प्रदेश संरचनाहरु बलियो नभएको भन्दै उनले भने, ‘अब प्रदेशलाई अधिकार आउँछ भन्नेमा आफू विश्वस्त छैन ।’
उनले आफू नेतृत्वको सरकारले प्रादेशिक सडक गुरु योजना निर्माण, कृषि क्षेत्रमा नयाँ मोडल ल्याउने क्रममा व्यक्तिलाई नभएर समुदायमा आधारित अनुदान प्रणालीमा जाने, गृहिणी महिला उद्यमशीलतासम्बन्धी कार्यक्रमलगायतका महत्त्वपूर्ण कार्य भएको बताउँदै उच्च शिक्षा प्रदेशको एकल अधिकार भएकोले कार्यान्वयनमा जाने प्रयास भएको बताए ।
मुख्यमन्त्री जम्कट्टेलले पदबाट राजीनामा घोषणा लगत्तै आजै प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिने छन् ।
अब बागमतीमा कांग्रेस-एमाले गठबन्धन सरकार बन्नेछ । कांग्रेसबाट बहादुर सिं लामा मुख्यमन्त्री बन्दै छन् । सरकार गठनका लागि दाबी पेश गर्न कांग्रेस र एमालेका सांसदकाे हस्ताक्षर संकलन गरिएकाे छ ।
प्रतिक्रिया