बेँसीशहर–चामे सडक कालोपत्रसहित स्तरोन्नति हुने

बेँसीशहर–चामे सडक कालोपत्रसहित स्तरोन्नति हुने



मनाङ । हिमाली जिल्ला मनाङ प्रवेश गर्ने एकमात्र बेँसीशहर–चामे सडक कालोपत्रसहित स्तरोन्नति हुने भएको छ । बर्सेनि पहिरोको जोखिममा रहेको यो सडक चालू आर्थिक वर्षमै स्तरोन्नति गरिने तयारी छ ।

सडक जोखिमपूर्ण हुँदा बर्सेनि स्थानीय तथा पर्यटकले सास्ती भोग्दै आएका छन् । सडक स्तरोन्नतिको प्रक्रिया अघि बढेको मनाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङले जानकारी दिए । सडक कालोपत्र गर्न डुम्रे–बेँसीशहर–चामे सडक योजनासँग मनाङमा निर्माणाधीन जलविद्युत् आयोजनाले पनि सहकार्य गर्ने भएका छन् । सडक विस्तार तथा स्तरोन्नति गर्न दानाक्युमा रहेको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना सहमत भएको छ ।

आयोजनाका उपमहाप्रबन्धक प्रतीकमानसिंह प्रधानका अनुसार भौगोलिक विकटतासँगै साँघुरो र पहिरोको जोखिम रहेको सडकको चौडाइ विस्तार गर्ने, कटिङ गर्ने, जोखिम भएका ठाउँमा ढलान र अन्य ठाउँमा कालोपत्र गरिनेछ ।

हिउँद र वर्षा दुवै याममा साना तथा ठूला गाडी सहजै आवतजावत गर्नसक्ने गरी सडक विस्तार गर्ने गरी योजना निर्माण भइरहेको बेँसीशहर–चामे सडक योजनाका निमित्त प्रमुख किरण पोख्रेलले बताए ।

दुई वर्षअघि बेँसीशहरबाट खुदीसम्म आठ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बेँसीशहर–चामे सडकको लम्बाइ ६५ किलोमिटर रहेको छ ।