जहाज उड्नेबित्तिकै दाहिने मोडिएर दुर्घटनामा पर्‍यो

जहाज उड्नेबित्तिकै दाहिने मोडिएर दुर्घटनामा पर्‍यो

नियमित प्राविधिक परीक्षण गर्न पोखरा लगिँदै थियो सौर्य एयरको जहाज



काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजमा परी १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले दिएको जानकारीअनुसार १८ जनाको शव संकलन गरिएको छ भने एक जनाको जीवित उद्धार गरिएको छ ।

जहाजमा २ जना चालक दलसहित १९ जना थिए । जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको उद्धार गरेर केएमसी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

“सौर्य एयरलाइन्सको CRJ7 9NAME जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११ः११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गइ रन वेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा एक जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याएको जानकारी गराइन्छ,” प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ । जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए ।

जहाज नियमित प्राविधिक परीक्षणका लागि पोखरा लान लागेको खुलेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गरमा बुधबारदेखि एक महिना राखेर जहाजको नियमित परीक्षण गर्न सौर्य एयरलाइन्सले निवेदन दिएको विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले बताइन् ।

‘हामीले बाइक, गाडीको रेगुलर सर्भिसिङ गर्छौं नि, त्यस्तै सौर्य एयरको जहाज पनि रूटिन चेकअपका लागि आजदेखि एक महिना पोखरा एयरपोर्टको ह्याङ्गरमा राख्न निवेदन दिएको थियो,’ उनले भनिन् ।

जहाजको प्राविधिक परीक्षणका लागि ह्याङ्गरमा राख्ने गरिन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङ्गर सुविधा उपलब्ध छ ।