हवाई र सडक दुर्घटना रोक्न सरकारले विशेष ध्यान दिनुपर्छ

हवाई र सडक दुर्घटना रोक्न सरकारले विशेष ध्यान दिनुपर्छ



काठमाडौँ । प्रतिनिधि सभाका संसद्ले हवाई र सडक दुर्घटना हुन नदिन विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सत्तारुढ कांग्रेस सांसद राजेन्द्र बजगाईँ, एमाले सचेतक सुनिता बराल लगायतका सांसदले हवाई र सडक दुर्घटना हुन नदिनका लागि विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद बजगाईँले सौर्य एयरलाइन्सको विमान दुर्घटना र त्रिशूली नदीमा भएको बस दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै सो अवस्था आउन नदिनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेलेको ध्यानाकर्षण समेत गराए । उनले सरकारले हवाई दुर्घटना हुँदा शोक व्यक्त गर्दै आधा राष्ट्रिय झण्डा झुकाएको तर त्रिशूलीमा बस दुर्घटना हुँदा त्यस्तो नगरेर विभेद गरेको भन्दै आपत्ति पनि जनाए ।

सांसद बजगाईँले भने, ‘नेपालको हवाई सेवाको लागि सरकारसँग परामर्श गरेर सभामुखज्यूले रुलिङ नै गर्नुपर्छ । हुनत बस दुर्घटनाको विषयमा सरकार अनुत्तरित छ । हामीले आधा झण्डा झुकायौँ हवाई सेवा दुर्घटनाको सन्दर्भमा । तर ६५ जनाको ज्यान गएको बस दुर्घटनाको बारेमा विभेद भयो भन्ने पनि प्रश्न उठेको छ। सम्माननीय सभामुखज्यूलाई म यो अनुरोध गर्न चाहन्छु कि यो विषयमा रुलिङ गरिदिनु पर्‍यो ।’

एमालेकी सचेतक बरालले सरकारले हवाई र सवारी दुर्घटना हुन नदिनका लागि विशेष ध्यान दिन जरुरी रहेको बताइन् । उनले हवाई दुर्घटना हुन नदिनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सचेत गराउन पनि सरकारलाई सुझाव दिइन् ।

सचेतक बरालले हवाई दुर्घटना हुन नदिनका लागि सरकारले नीतिगत व्यवस्था नै गरेर अघि बढ्नुपर्ने पनि बताइन् ।

“हवाई दुर्घटना र सडक दुर्घटनाका बारेमा विशेष ध्यानाकर्षण हुन जरुरी छ । सरकारले विशेष ध्यान दिन जरुरी छ । आज यात्रालाई मृत्युको गन्तव्य हो कि भन्ने परिकल्पना गरेर हिँड्नुपर्ने जुन अवस्था छ, यो असाध्यै दुःखद पक्ष छ । हवाईमार्गबाट दुई मिनेट पनि उड्न नपाउँदै भएको दुर्घटनाले हामीलाई विक्षिप्त मात्रै बनाएको छैन, ठूलो क्षति व्यहोर्नुपरेको छ‚” उनले भनिन्‚ “त्यसकारण यो क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरूलाई यो विषयमा विशेष ध्यानाकर्षण गराउन, यो निकायसँग सम्बन्धित व्यक्तिहरूलाई खबरदारी गर्न, नियमन र अनुगमनलाई विशेष प्रभावकारी बनाउनका लागि नीतिगत रूपमा नै विशेष ध्यानाकर्षण गराउन जरुरी छ भन्ने कुराको अनुभूति भएको छ ।”

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले नागरिक उड्डयन प्राधिकरणको औचित्यमाथि प्रश्न गरे । ०७७ सालमा राष्ट्रियसभामा दर्ता गरिएको नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा विधेयक कहाँ थन्किएको छ ? भन्दै उनले प्रश्न गरे ।

“क्यान (नेपाल नागरिक उड्डयन प्राधिकरण) के गरेर बसेको छ ? हवाई दुर्घटनाको जिम्मेवारी कसले लिन्छ ? राष्ट्रियसभामा गएको विधेयक कहाँ थन्किएर बसेको छ ? तत्काल विधेयक प्रतिनिधिसभामा ल्याइयोस्‚” उनले भने ।

प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङदेनले सौर्य एयरलाइन्सले ‘सी चेक’ गर्न पोखरा लैजानुपर्ने, काठमाडौंमा हुन नसक्ने कारण के हो ? भन्दै प्रश्न गरे । उनले यसतर्फ नियामक निकायको ध्यान जान जरुरी रहेकामा जोड दिए ।