धार्चेको पहिरोमा बेपत्ता भएका चार जनाको शव भेटियो, एक अझै बेपत्ता

धार्चेको पहिरोमा बेपत्ता भएका चार जनाको शव भेटियो, एक अझै बेपत्ता



गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ सिङ्लास्थित रेसेमा लेदोसहितको पहिरो जाँदा बेपत्ता भएका चार जनाको शव फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

जितबहादुर गुरूङ, उनका बुवा सुलाल कान्छा गुरूङ र स्थानीय रमेश गुरूङको शव पहिरोले पुरेको अवस्थामा फेला परेको छ । तीन जनाको शव सोमबार दिउँसो र एक जना महिलाको शव आइतबार नै फेला परेको थियो ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गर्ने क्रममा शव फेला परेको हो ।

पहिरोमा जितबहादुरका परिवारका तीन जना परेका थिए । जितबहादुरकी श्रीमती कान्छीमाया गुरूङ पनि पहिरोमा परेर बेपत्ता थिइन् ।

प्रहरीका अनुसार गोरखाकै गण्डकी गाउँपालिकास्थित फिस्लिङमा एक जना महिलाको शव फेला परेको छ । उक्त शव प्रहरीले कान्छीमायाको भएको पहिचान गरेकोले घटनास्थलमा ल्याउदै छ ।

यो पहिरोमा परेर जितबहादुरको परिवारका तीन जना र स्थानीय एक र आरूघाट गाउँपालिकाका एक जना बेपत्ता थिए। तीमध्ये आरूघाटका रमेश परियारको खोजी कार्य जारी छ ।

पहिरोमा परेकाहरू सबै स्थानीय वाटर इनर्जी हाइड्रोमा कार्यरत कर्मचारी रहेको प्रहरीले जानकारी दिएकाे छ ।