काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त हुने भएका छन् । सभापति देउवाका भतिज प्रकाश देउवाले मुख्यमन्त्री बन्ने प्रयास गरेका थिए । त्यसका लागि परराष्ट्रमन्त्री आरजु देउवामार्फत् प्रकाशले संसदीय दलको नेता परिवर्तन गर्ने प्रयासमा थिए । तर गलत म्यासेज जाने भन्दै सभापति देउवाले कमलबहादुर शाहलाई नै मुख्यमन्त्री बनाउन निर्देशन दिएका छन् ।
परराष्ट्रमन्त्री राणाका पूर्वस्वकीय सचिव प्रकाश यसअघि सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री थिए । पूर्वमुख्यमन्त्री शाह एमाले–माओवादी गठबन्धनपछि विश्वासको मत पाउन नसकेर पदमुक्त भएका थिए ।
काँग्रेस–एमालेबीच भएको सत्ता गठबन्धनसम्बन्धी सहमतिमा सुदूरपश्चिम कांग्रेसको भागमा परेको थियो । काँग्रेसबाट मुख्यमन्त्रीमा शाहसहित देउवाका भतिज प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्ट मुख्यमन्त्रीको आकांक्षा देखाएका थिए ।
शाह कांग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता हुन् । यसअघि देउवाले चारै आकांक्षीलाई बुढानीलकण्ठ बोलाएर छलफल गरेका थिए । देउवाको निर्देशनपछि तीन जना पछि हटेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले विश्वासको मत नपाउने निश्चित भएपछि शुक्रबार पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री चयनको तयारी भएको हो । प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि शुक्रबार नै आह्वान गरेका छन् ।
मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन् । एमाले र नागरिक उन्मुक्ति पार्टीको सहयोगमा शाहले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया