पुरानै मापदण्डका आधारमा क्रसर नवीकरण गराउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पुरानै मापदण्डका आधारमा क्रसर नवीकरण गराउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासंघले ज्ञापन पत्र बुझाएको छ । 

आफ्ना उद्योगहरूको नवीकरणमा उत्पन्न समस्याबारे क्रसर उद्योग महासंघले प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा महासंघका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएका सात सय क्रसर तथा बालुवा उद्योगहरूलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन्।

वातावरण सम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दुरी सम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकोमा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासंघको भनाइ छ । 

महासंघले उद्योगहरूको नवीकरण नहुँदा करिब चार अर्ब लगानी डुुब्ने अवस्थामा रहेको दाबी गरेको छ । 

विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुर लिएर पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यावहारिक एवम् नयाँ मापदण्ड ल्याउन माग गरेको छ ।