काठमाडौं । घरेलु टोली नेपालले आज देखि सुरु साफ यु-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
आइतबार नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको हो । सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फमा भएको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको थियो ।
नेपालका लागि निराजन धामीले २४औ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
सन् २०१५ मा एन्फा मैदानमा साफ यू १९ आयोजना हुँदा नेपाली टोली च्याम्पियन बनेको थियो ।
दशरत रंगशालाको अवस्था अहिले पनि खराब रहेका कारण एन्फाले साफ यू २० आफ्नै मैदानमा आयोजना गरेको हो ।
नेपालले आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ ।
त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।
च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाको ६ टोली सहभागित छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाईएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाईनल पुग्नेछन् ।
च्याम्पियनसिपमा आइतबार समूह बी मा रहेको भारत र भुटानबीच खेल हुनेछ ।
प्रतिक्रिया